युरोपका नेपाली सुरक्षितः इटालीका १५ सय नेपाली नियमित सम्पर्कमा

काठमाडौं : युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’

इटालीसमेत हेर्ने जेनेभास्थित नेपाली स्थायी नियोग प्रमुख मणि भट्टराईले पनि नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको बताए। उनले टेलिफोनमा भने, ‘अवैतनिक दूत, गैरआवासीय संघका प्रतिनिधिलगायतसँग सम्पर्कमा रहेर सजग गराइरहेका छौं।’ जेनेभामा सबै सुरक्षा अवलम्बन गरिएको उनले बताए। जेनेभामा अप्रिलसम्मका राष्ट्रसंघीय सबै कार्यक्रम सारिएको छ।

प्रा.डा.कटक मल्लले स्विडेनमा पनि महामारी फैलिएको तर दैनिक जीवन भने चलिरहेको बताए। उनले भने, ‘महामारी त छँदै छ त्यो भन्दा पनि बढी हल्लाले काममा असर परेको छ।’

उनले स्टकहोममा आफ्नो दैनिकी नरोकिएको बताए। मल्लले भने, ‘इटाली क्वारेन्टाइनमा छ। त्यहाँ सरकारले नागरिकका लागि काम गरिरहेको छ।’

फ्रान्स, जर्मनी, डेनमार्कस्थित नेपाली दूतावासले पनि युरोपमा रहेका नेपाली संक्रमित नरहेको स्पष्ट पारेका छन्। अस्ट्रेलियामा नेपालबाट गएका विद्यार्थी संक्रमित भनिएको छ। तर, त्यसबारे केही खुलाइएको छैन। त्यहाँका कुनै नेपालीमा संक्रमण नदेखिएको दूतावासले जानकारी पठाएको छ। खाडीमा पनि नेपाली संक्रमित नदेखिएको समाचार छ।

चिनियाँ प्रान्त हुपईको वुहानबाट सुरु भएको कोरोना भाइरस सयभन्दा बढी मुलुकमा फैलिएको छ। विभिन्न देशमा गरी ४ हजार ३ सयभन्दा बढीको ज्यान गएको छ। एक लाख २० हजार मानिस संक्रमित भएका छन्। ६७ हजार व्यक्ति उपचारपछि स्वस्थ बनेको तथ्यांक छ।

चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। इटाली, दक्षिण कोरिया, इरान, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा संक्रमण फैलिएको छ। डेढ लाखभन्दा बढी नेपाली रहेको बेलायतमा पनि कोरोनाबाट नेपाली संक्रमित बनेको जानकारी छैन। आजको अन्नपूर्ण पोष्टबाट


प्रकाशित | २९ फाल्गुन २०७६, बिहीबार १३:४२