राजधानीमा सञ्चालित खाजा पसलमा अखाद्य (अत्याधिक डढेको )तेलको प्रयोग

काठमाडौं : राजधानीका धेरैजसो खाजा पसलमा अखाद्य तेलको प्रयोग भएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा यस्तो फेला पारेको हो ।  काठमाडौं महानगरपालिकाको सितापाइलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको अनुगमनको क्रममा पाइएको हो। चिकेन फ्राइका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाइएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिनभित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ। त्यसैगरीसँगै सञ्चालित सेल्सबेरी डिपार्टमेण्ट स्टोरका खाद्य सामग्रीहरू पनि गुणस्तरहिन पाइएको छ।

फापरको पीठो, पिउने पानी, तेल, जाम लगायत सामाग्री गुणस्तरयुक्त नपाइएपछि विभागले सेल्सबेरी डिपार्टमेण्ट स्टोरको उत्पादन तथा बिक्रिवितरणमा रोक लगाएको छ। त्यसैगरी, बालाजु माछापोखरीस्थित सूर्यदेव मिठाई पसललाई भने अनुगमन टोलीले सिल्ड गरेको छ। विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीका अनुसार कानुनी प्रक्रिया पूरा नगरि संञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको हो ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १८:२५