वैदेशिक रोजगारीलाई मर्यादित बनाउन श्वेतपत्र तयार गर्दै एनआरएनए

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउनका लागि आफ्नो धारणासहितको श्वेतपत्र तयार गर्न लागिपरेको छ । संघले वैदेशिक रोजगार सम्बन्धी संघको आधिकारिक धारणासहितको श्वेतपत्र तयार गर्नको लागि विभिन्न सरकारी निकायसँग छलफल समेत प्रारम्भ गरेको छ ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसले वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याहरु र त्यसको समाधानका गैरआवासीय नेपाली संघको भूमिका सम्बन्धमा, वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोगका बारेमा, वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षाका बारेमा संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयहरुका बारेमा छलफल गर्दै श्वेत पत्रको लागि गृहकार्य थालेको जानकारी गराउनुभयो ।

त्यस्तै, मंगलबार विभिन्न विज्ञ तथा सरोकारवालाहरुसँग गरिएको छलफलमा सरोकारवालाहरुले आ आफ्ना धारणा व्यक्त गर्नु भएको थियो । विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणा पत्र बनाउन लागेकोमा हार्दिक धन्यवाद प्रकट गर्नु हुदै वैदेशिक रोजगारी सम्बन्धि आफ्ना धाराणाहरु राख्नु भएको थियो ।

उहाँहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गर्नु भयो ।

साथै उहाँहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघलाइ अनुरोध गर्नु भयो ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा। केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिनु भएको थियो ।

साथै उहांले संघले वैदेशिक रोजगार सम्बन्धि आधिकारीक धारणा पत्र बनाउन गईरहेको बारे जानकारी दिदै राय सुझावहरु दिनको लागि अनुरोध गर्नु भयो ।

माथिका उल्लेखित विषयहरु बाहेक बैठकमा सहभागीहरुले हालै विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गंभिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न अनुरोध गर्नु भयो ।

यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश स् डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा। बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित | २१ फाल्गुन २०७६, बुधबार १४:५२