अस्ट्रेलियाले नेपाललाई सवा २ अर्ब सहयोग गर्ने, समस्यामा परेका नेपाली विद्यार्थीलाई नआत्तिन आग्रह

काठमाडौं: अस्ट्रेलिया सरकारले सन् २०१९-२० मा नेपाललाई करिव सवा २ अर्ब रूपैयाँ बराबरको अफिसियल डेभलपमेन्ट (ओडीए) प्रदान गर्ने भएको छ । यो रकम अस्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ फरेन अफयर्स एन्ड ट्रेडले उपलब्ध गराउने द्विराष्ट्रिय सहयोग रकम पनि हो । पछिल्लो समयमा अस्ट्रेलियाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ । सन् २०१८-१९ मा पनि उसले नेपाललाई झन्डै ३ अर्ब रूपैयाँ बराबरको सहयोग गरेको थियो ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बड्ले दुई देशबीचको सम्बन्धलाई विकास साझेदारी र जनस्तरको सम्वन्धबाट अझ प्रगाढ बनाउन चाहेको बताए । “नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध निकै लामो र सुदृढरूपमा अगाडी बढेको छ, हामी यसलाई अझ सशक्त ढंगले अगाडी बढाउन चाहन्छौं,” राजदूत बड्ले भने, “नेपालको आर्थिक विकास, साना मझौला व्यवसाय, महिला तथा पिछडिएको वर्गलाई गरिबीबाट हटाउन सहयोग निरन्तर रहनेछ ।” नेपाल र अस्ट्रेलियाबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

२०७२ सालमा गएको भूकम्पको प्रभावबाट नेपाल सुधारोन्मुख गतिमा गए पनि अझै धेरै चुनौती रहेको अनुभव राजदूत बड्को थियो । संयुक्त राष्ट्र संघले सन् २०१६ मा सार्वजनिक गरको मानव विकास सुचकांक (एचडीआई) प्रतिवदेनमा १८७ देशमध्ये नेपाल १४४ औं स्थानमा छ । पछिल्ला २० वर्षमा नेपालले गरिवी न्यूनीकरणमा उपलब्धि हासिल गर्दै आए पनि अझै यस क्षेत्रमा काम गर्न बाँकी रहेको उनले बताए । लामो समयको राजनीतिक अस्थिरतापछि दुइतिहाई बहुमतसहितको सरकारबाट धेरै आशावादी देखिएका राजदूत बड् अस्ट्रेलिया सरकारका कामकारबाहीबाट पनि सिक्न सकिने बताउँछन् । २ वर्षअघि नेपालका लागि अष्ट्रेलियन राजदूतमा बड् नियुक्त भएका थिए । यो समाचार आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

अस्ट्रेलिया सरकारले उपलब्ध गराउने सहयोग कार्यक्रम खासगरी महिला, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायमा लक्षित छ । आर्थिक उपार्जनका अवसर उपलब्ध गराउने, सुशासन तथा नीतिगत कार्यान्वयनमा जोड, गुणस्तरीय आधारभूत शिक्षामा पहुँच वृद्धि गरी मानव विकासमा जोड दिनेलगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारको सहायता केन्द्रित छ ।

पछिल्लो समयमा उच्च शिक्षाका अस्ट्रेलिया गएका नेपाली विद्यार्थीहरू समस्यामा परेको गुनासो बढिहरेका बेला राजदूत बडले भने विद्यार्थीहरूलाई नअतालिन आग्रह गरेका छन् । उनले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि अस्ट्रेलियामा जाँदा अनलाइनबाट फारम भर्न र सम्बन्धित विश्वविद्यालयबाट भरपुर जानकारी लिन आग्रह गरे । तर अनलाइनबाट गरिएको आवदेन सम्वन्धित विश्वविद्यालयले नलिएर एजेन्सीमार्फत विद्यार्थी लैजाँदा ठगीमा पर्ने गरेका छन् । अस्ट्रेलिया जान नेपाली विद्यार्थीले ठूलो रकमसमेत तिर्ने गरेका छन् । अस्ट्रेलियामा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये नेपाली तेस्रो बढीमा पर्दछन् ।

पछिल्लो समय अस्ट्रेलियाका दुई प्राविधिक कलेजको दर्ता खारेज भएपछि अत्तालिएका नेपाली विद्यार्थीलाई पनि राजदूत बड्ले पढाई नियमित राख्न आग्रह गरे । खारेजीमा परेका कलेजका विषयमा पुनरावलोकन भइरहेको भन्दै उनले अदालती कारबाही नटुंगिदासम्म कलेज छोड्नु नगर्ने उनको भनाइ थियो ।

भर्ना प्रक्रियासम्बन्धी आवश्यक मापदण्ड पूरा नगरेको भन्दै अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) र अस्ट्रेलियन इन्सिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी—इन्टरनेसनल (एआइबिटी— इन्टरनेसनल)को दर्ता खारेज भएको थियो । राजदूत बड्ले उक्त निर्णयबाट ती दुई प्राविधिक कलेजमा अध्ययनरत करिब ९ सय नेपाली विद्यार्थी प्रभावित भएको बताए ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार ११:५०