प्रधानमन्त्री ढुक्कः ९ बजेदेखि शल्यक्रिया सुरु गरिने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् ।

ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा.उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा.प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा.ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ ।

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा.अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।

चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा.ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए ।

प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ ।

चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्नुअघि मुख्य रूपमा मुटु हेरिन्छ । ‘प्रत्यारोपण सफल–असफल हुने मुटुले निर्धारण गर्छ । प्रधानमन्त्रीको सबै स्वास्थ्य ठीक भएकाले प्रत्यारोपण गर्न लागिएको हो,’ काफ्ले भने ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जिकल टिममा डा.ज्ञवाली र डा। शर्माबाहेक डा.पवन चालिसे, डा.सुमन चापागाईं पनि छन् । भारतबाट आएका डा.अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहनेछन् । त्यस्तै, मेडिकल टिममा डा.दिव्या सिंह साह, डा.महेश सिग्देल, डा.मकुन्द काफ्ले, डा.रविन नेपाली छन् ।

एनेसथेसियासहित क्रिटिकल केयरमा डा.सुवास आचार्य र डा.अनिल श्रेष्ठ खटिएका छन् । पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको नर्सिङ टोली छ । त्यस्तै, कलेजोमा समस्या देखिए डा.रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा.सन्तकुमार दास र मुटुमा समस्या देखिए डा.अरुण सायमी पनि तयारी अवस्थामा रहनेछन् ।

शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया कलेजो प्रत्यारोपण गर्ने अप्रेसन थिएटरमा गरिनेछ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रियापछि उनलाई नियमित आइसियूमा नराखेर कलेजो प्रत्यारोपण युनिटकै आइसियूमा राखिनेछ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार साँझ शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले केहीबेर ओलीसँग कुरा गरेका थिए । त्यसअघि अस्पताल पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् ।  आजको नयाँ पत्रिकाबाट


प्रकाशित | २१ फाल्गुन २०७६, बुधबार ०७:२७