जर्मनीको कोलोन शहरमा ‘माउण्टेन वल्ड’ महोत्सव

काठमाडौं : जर्मनीको कोलोन शहरमा ‘माउण्टेन वल्ड’ महोत्सव भएको छ । नेपालको पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गरी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले ‘माउण्टेन वल्ड’ महोत्सव आयाजना गरिएको हो ।

कोलोनस्थित महावाणिज्य दूतावास र जर्मन–नेपाल मैत्री सङ्घको समन्वयमा आयोजनामा भएको महोत्सवमा नेपाललगायत भियतनाम, मङ्गोलिया, जर्मनी, अस्ट्रिया, पेरु, नाम्बिया, स्लोभेनिया, इरान, भारतलगायतका देशको पर्यटकीय सम्पदाहरुसम्बन्धी प्रदर्शनी गर्नुका साथै वृत्तचित्रहरु प्रस्तुत गरिएको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना हुने यस महोत्सवमा यसपटक नेपालको पर्वतीय पर्यटनका विषयलाई विशेष महत्व दिइएको थियो । महोत्सवको उद्घाटन समारोहमा जर्मन–नेपाल मैत्री सङ्घका अध्यक्ष राम प्रताप थापाले यस किसिमका मेलाहरुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य अवधेशकुमार दासले नेपालको सातवटै प्रदेशका पर्यटन गन्तव्यस्थलको सुन्दरताका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले नेपाली पर्यतीय पर्यटनसम्बन्धी प्रस्तुतीकरण दिनुको साथै दुईवटा वृत्तचित्र पनि प्रस्तुत गर्नुभएको थियो ।

दासका अनुसार सहभागीहरुलाई नेपाली खाना खुवाउनुको साथै नेपालका सातवटै प्रदेशका वेशभूषा झल्किने गरी नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा एक हजारभन्दा बढीको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई नेपाली भाषासम्बन्धी अलग्गै कक्षासमेत सञ्चालन गरिएको थियो । अन्तराष्ट्रिय कला र संस्कृति सङ्ग्रहालयको विशेष दिवसको अवसरमा आयोजनामा गरिएको सो महोत्सवमा नेपाललगायत विभिन्न देशका पर्यटकीय गन्तव्य, कला र संस्कृति, हिमाली जीवनशैलीका साथै नेपालका विभिन्न हिमालहरु र पर्वतारोहणका लागि विभिन्न पदमार्गको बारेमा जानकारी दिने कक्षहरु राखिएको थियो ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १५:१२