हङकङमा नेपालीका लागि रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न नेपाल सरकारसँग एनआरएनएको माग

हङकङ :  गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले लामो समयदेखि नेपालीका लागि बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए हङकङको टोलीले श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई भेटी  बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न  माग गरेको हो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङ, महासचिव गोर्कण ढकालसहित आइसीसी सदस्य डासु राम पराजुलीले मन्त्री यादवसँग भेटी वैदेशिक रोजगारीको लागि हङकङ आर्कषक र सुरक्षित भएको भन्दै रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न माग गर्नुभएको हो ।

सो अवसरमा मन्त्री यादवले हङकङ रोजगारी भिसा सम्बन्धमा मन्त्रालयलाई जानकारी गराएकोमा धन्यवाद ज्ञापन गर्दै आवश्यक पहल गर्ने र सम्बन्धीत निकायसँग छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभयो ।

 

साथै एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङले रोजगार भिसा खुलाउन एनआरएनएको तर्फबाट गर्नुपर्ने आवश्यकीय जिम्मेवारी लिनसमेत तयार रहेको जानकारी गराउनुभएको थियो ।

स्मरण रहोस, सन् २००५ जुन ५ देखि हङकङमा नेपालीका लागि रोजगार भिसा बन्द रहेको छ । उक्त समयमा नेपालमा द्धन्द्धको अवस्था रहेको, केहि नेपालीले संयुक्त  राष्ट्र संघको कार्यालयमार्फत शरणर्थीको आवेदन दिएको र सोही कारण भिसा बन्द भएको अनुमान गरिएको थियो । तर द्धन्द्ध समाप्त भई मुलुक शान्ति प्रक्रियामा आइसक्दा पनि सो बन्द भिसा खुला हुन सकेको छैन ।


प्रकाशित | ८ फाल्गुन २०७६, बिहीबार १३:४१