बालुवाटार जग्गा प्रकरण: चार पूर्वमन्त्रीसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं :  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चलाएको मुद्धामा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १२५ जना रहेका छन् ।

उनीहरूविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । ललिता निवास प्रकरणमा रूक्म शमसेर राणादेखि नक्कली मोहीहरूसमेत गरी १ सय ७० भन्दा बढीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा चलाएको अख्तियार स्रोतले जनाएको छ ।

विशेष अदालतमा पेश भएको अभियोगपत्रका अनुसार, ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूमा गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी रहेको जनाइएको छ ।

यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिवको हैसियतमा मुद्दा चलाएको हो। पूर्वसचिव दिनेशहरि अधिकारी पनि यो मुद्दामा मुछिएका छन्।

जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमलाई पनि मुद्दा चलाइएको छ। उनलाई पूर्वउपसचिवको हैसियतमा मुद्दा चलाइएको हो।

त्यस्तै, अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित व्यापारी मिनबहादुर गुरूङलाई पनि मुद्दा चलाएको छ।

अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।


प्रकाशित | २२ माघ २०७६, बुधबार १८:४६