अर्थतन्त्रमा महामारीको त्रास

काठमाडौं : एक महिनाअघि दुई सय ४५ रुपैयाँ किलोको लसुनको भाउ सोमबार पाँच सय ५५ रुपैयाँमा किनबेच भयो। पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको भाउ दोब्बरभन्दा बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ।

यसअघि खुद्रा बजारमा पाँच सय रुपैयाँ प्याकेटमा पाइने फेस मास्कको भाउ होलसेलमै आठ सय रुपैयाँ नाघेको औषधि व्यवसायी बताउँछन्। यी दुवै वस्तुको भाउ अकासिनुको एउटै कारण हो– चीनमा फैलिएको कोरोना भाइरस।

कोरोना भाइरसको महामारीले सामान्य जनजीवनदेखि पर्यटक आवागमन प्रत्यक्ष प्रभावित भएको छ। उत्तरी छिमेकमा फैलिएको महामारीले मुलुकको समग्र अर्थतन्त्रमै असर गर्न सक्ने जानकार बताउँछन्। विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्ने अनुमान गरिएको यो महामारीले मूलतः पर्यटन उद्योगलाई धराशयी पार्ने धेरैको विश्लेषण छ।

‘जनवरीमै पर्यटक भित्रिने क्रम आधा घटिसकेको छ। भ्रमण वर्ष र पर्यटन क्षेत्रको आम्दानीलाई महामारीले ज्यादै ठूलो असर पार्ने देखिएको छ’, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले भने।

जनवरी २५ मा चिनियाँ नयाँ वर्ष मनाउन चीनको वुहानलगायत सहरमा गएका चिनियाँ व्यवसायी र ठेकेदार नेपाल फर्कन ढिलाइ भएको छ। जसका कारण कतिपय विकास निर्माणका काम प्रभावित भएका छन्। महामारीकै कारण चीनसँग सरकारी तथा निजी क्षेत्रको तहमा हुने द्विपक्षीय बैठक प्रभावित भएका छन्।

नेपाल बैंकर संघका अध्यक्ष भुवनकुमार दाहाल पनि चिनियाँ महामारीले बैंकिङ क्षेत्रमा समेत जोखिम निम्त्याउने बताउँछन्। ‘यसले हाम्रो होटललगायत पर्यटन क्षेत्रका अन्य व्यवसायलाई धक्का लाग्न सक्छ’, उनी भन्छन्, ‘पर्यटनसँग सम्बन्धित अन्य आम्दानी पनि गुमाउनुपर्छ।’

नेपालले पर्यटनबाट सर्वाधिक आम्दानी गर्ने स्रोत चीन हो। यसले गर्दा बैंकको ठूलो ऋण रकममा समस्या पर्न सक्ने जोखिम अरू बैंकले पनि देखाएका छन्। ‘पोखराका होटल अहिल्यै समस्यामा पर्न थालिसकेका छन्’, अर्का एक बैंकर भन्छन्, ‘चिनियाँ पर्यटक आउन बन्द भयो भने ट्राभल कम्पनीदेखि हवाई अड्डाको आम्दानीसमेत घट्छ।’

पछिल्लो समय भ्रमण वर्षलाई लक्ष्य गरेर होटेल र ट्राभल तथा उड्डयन क्षेत्रमा बैंकले पनि लगानी बढाएका छन्। ‘गाडी किन्न होस् वा पुराना होटलको पुनः सञ्चालनका लागि जोखिम उठाउन पनि बैंक पछि परेका छैनन्’, अर्का एक बैंकर भन्छन्। आजको अन्नपूर्ण पोष्टबाट


प्रकाशित | २२ माघ २०७६, बुधबार ०८:००