अस्ट्रेलियामा आकर्षक पुरस्कार सहितको पहिलो नेपाली फोटो प्रतियोगिता हुने

सुशील चालिसे /मेलबोर्न

साथी अस्ट्रेलियाको आयोजनामा पहिलो नेपाली फोटो प्रतियोगिता हुन गइरहेको जानकारी पत्रकार सम्मेलन मार्फत गराइएको छ । प्रतियोगितामा भाग लिनको लागि अप्रिल ४ तारिख सम्ममा प्रतियोगीहरुले आ-आफ्नो फोटो पठाईसक्नु पर्ने छ ।पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा प्रस्ट पार्दै मुख्य संयोजक अरुण चित्रकारले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले भाग लिन पाउने ब्यबस्था रहेको बताउनु भएको छ ।

विधा खुल्ला रहेको र जुनसुकै माध्यमबाट खिचिएको फोटोहरु पठाउन सकिने हुँदा यस प्रतियोगितामा फोटो खिच्ने कलाका पारखीहरुले सजिलै अवसर प्राप्त गर्ने छन । www.sathiaustralia.com मार्फत प्रतियोगिताको सम्पुर्ण जानकारी लिन सकिने छ ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुका लागी फोटोको माध्यमबाट आफुलाई स्थापित गर्ने यो सुबर्ण अबसरमा सहभागी हुनका लागी संयोजक चित्रकारले प्रतियोगितामा भाग लिन हुन अनुरोध गर्नु भएको छ । प्रतियोगितामा क्रमश: प्रथम, दृतिय, तृतीय तथा सर्बाधिक रुचाइएको फोटो क्याटेगोरीमा गरी नगद २५००, १५००, ५००, ५०० अस्ट्रेलियन डलर रहेको छ ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुमा भएको फोटोग्राफी सम्बन्धि कलालाई उजागर गरि प्रचार प्रसारमा ल्याउनुका साथै नेपालले यस वर्ष मनाइरहेको भिजिट नेपाल २०२० को ब्यापक प्रचार प्रसार गर्न टेवा पुर्याउने मुख्य उदेश्य रहेको यस प्रतियोगिताबाट छानिने उत्कृस्ट २५ फोटोहरु तथा नेपालका बरिस्ठ फोटोग्राफरहरुका १५ उत्कृस्ट फोटोहरु अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा प्रदर्शन गरिनुका साथै उत्कृस्ट फोटोहरुको संकलन गरी एउटा पुस्तकको बिमोचन गरिने जानकारी आयोजक संस्थाले दिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा अस्ट्रेलियाका डेभिड मिकासा सहितको प्यानल गठन गरिने जानकारी दिदै यस कार्यलाई सफल रुपमा संचालन गर्न साथ् दिनुहुने मुख्य प्रायोजक टि डब्लु जिजीका टोनु घोताने लगाएत एडुकेसन पार्टनर ग्रेस एडुकेसनका रामचन्द्र पौडेल प्रति आभार प्रकट गरेको छ ।

मुख्य प्रायोजक टि डब्लु जिजीका टोनु घोताने तथा एडुकेसन पार्टनर ग्रेस एडुकेसनका रामचन्द्र पौडेलले सुभकामना मन्तब्य व्यक्त गर्दै यो एउटा प्रतियोगिता मात्र नभई श्रीजनात्मक रहेको र बिशेषत बिधार्थीहरुलाई पनि लक्ष्य गरेकोले आफुहरु झनै आकर्षित भएको बताएका थिए ।

नेपाल टुरिजम बोर्डका ब्र्याण्ड एम्बेसेडर तथा एमएन टिभीका न्युज एडीटर श्री चिरञ्जीवी देवकोटा, एनआरएनएका पुर्ब प्रबक्ता श्री डिला खरेलले प्रतियोगिताको सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त पत्रकार सम्मेलनमा मेलबोर्न युनिभर्सिटीका प्रोफेसर डा गिरीराज कट्टेल, मेलबोर्न पोलीटेक्निकका लेक्चरर डा. रज्जन चित्रकार, इनास भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने लगाएत बिभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित | ७ माघ २०७६, मंगलवार १८:०८