एनआरएनएको विशेष महाधिवेशन गर्ने घोषणा, मिति र स्थान चाँडै तोकिने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विशेष महाधिवेशन गर्ने निर्णय गरिएको छ । संघको नवौ विश्व सम्मेलनबाट निर्वाचीत नयाँ कार्यसमितिले संघलाई ब्यवस्थित बनाउने उद्देश्यले थालेको ‘स्मार्ट एनआरएनए परियोजना र एनआरएन फाउन्डेसन’ स्थापनको लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति तय गरिने भएको हो ।

साथै गत विश्व सम्मेलनमा महासचिव र कोषाध्यक्षको समेत प्रतिवेदन पारित नभएकाले विशेष महाधिवेशनमार्फत सो प्रतिवेदन पारित गरिनेछ ।

एनआरएनएको नवौ विश्व सम्मेलनबाट निर्वाचीत कार्यसमितिको रुपाकोटमा बसेको पहिलो ‘फेस टु फेस बैठक’ले सो निर्णय गरेको हो । विशेष महाधिवेशनको मिती र स्थान भने चाँडै तोकिने निर्णय समेत गरिएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकमा विश्वका विभिन्न मुलुकबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जनाको सहभागीता रहेको थियो ।

बैठकले ‘स्मार्ट एनआरएन, एनआरएनए फाउण्डेसन, डीडीए रिपोट, काठमाण्डौंमा सार्वजनिक शौचालय, संस्थागत संरचना, वैदेशिक रोजगारीका सम्वन्धमा श्वेतपत्र, नागरिकताको निरन्तरता’ लगायतका महत्वपूर्ण विषयमा १४ बुँदे निर्णय गरेको छ ।


प्रकाशित | ७ माघ २०७६, मंगलवार १५:०९