यस्तो छ काठमाडौं महानगरभित्रका निजी विद्यालयमा शिक्षण शुल्क

काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी विद्यालयको शुल्क करिब २७ प्रतिशतले बढाएको छ। दुई वर्षअघि तोकेको शुल्क समायोजन गरेको दाबी गर्दै महानगरले अधिकतम शुल्क तोकेको समाचार कान्तिपुर दैनिकले लेख्नुभएको छ । महानगरले अघिल्लो व्यवस्थाअनुसार वर्गीकरण गरिएका ‘क’ देखि ‘घ’ वर्गका निजी विद्यालयको शुल्क तोकेको विद्यालय व्यवस्थापन शाखाका प्रमुख बुद्धि भट्टले बताउनुभयो ।

यो शुल्क शैक्षिक सत्र २०७६ देखि लागू हुनेछ। नयाँ शुल्कअनुसार ‘क’ वर्गका विद्यालयले कक्षा १ देखि ५ सम्म प्रतिविद्यार्थी मासिक अधिकतम दुई हजार आठ सय १२ रुपैयाँ लिन पाउनेछन्। ‘ख’ वर्गका लागि दुई हजार चार सय १८ ‘ग’ वर्गकाले दुई हजार २४ र ‘घ’ वर्गकाले एक हजार ६ सय ३० रुपैयाँ लिन सक्नेछन्। कक्षा ६ देखि ८ सम्म ‘क’ वर्गका विद्यालयले तीन हजार दुई सय १५ र ‘ख’ वर्गकाले दुई हजार आठ सय एक रुपैयाँ लिन पाउनेछन्।

यस्तै ‘ग’ वर्गकाले दुई हजार तीन सय ५१ र ‘घ’ वर्गकाले एक हजार नौ सय एक रुपैयाँभन्दा बढी लिन पाउनेछैनन्। कक्षा ९ र १० मा ‘क’ वर्गका विद्यालयले चार हजार तीन सय ७३, ‘ख’ वर्गकाले मासिक तीन हजार सात सय ६२, ‘ग’ ले तीन हजार ४९ र ‘घ’ वर्गकाले दुई हजार पाँच सय ३७ रुपैयाँ शुल्क उठाउन पाउनेछन्। आवास, परिवहन, विशेष प्रशिक्षणजस्ता शुल्कलाई भने महानगरले अतिरिक्त मानेको छ। विशेष शुल्क भन्दै दुई तिहाइ अभिभावकले स्वीकार गरे यी शीर्षकमा शुल्क उठाउन पाइनेछ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार ०७:४६