संसद बैठक सूचना टाँसेर ६ दिनको लागि स्थगित

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा शुक्रबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अब बैठक पुस १६ गतेका लागि बोलाइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल प्रचण्ड बिहीबार चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो । तर प्रचण्डले काठमाडौं फर्किने कार्यक्रम रद्ध गरेपछि पार्टीमा छलफल हुन पाएन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन । प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् ।

पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजिनामा पनि सरेको छ । सभामुखमा टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा राजीनामा दिने उनको तयारी थियो ।


प्रकाशित | ११ पुष २०७६, शुक्रबार १४:३७