दाङ : भारतमा काम गर्न गएका दाङका ३ जना मजदुरको रहस्यमय मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रमका लागि भारत हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका नोखिराम भण्डारी र प्रकाश वली गएको चैत १० गते मृत अवस्थामा फेला परेका थिए । पूर्णबहादुर वलीको खोजतलासको क्रममा गएको चैत २५ गते कुल्लु मनाली पतलिकुहलको जंगलमा शव फेला परेको थियो ।
मृतक तीनै जनाको शव दाङ ल्याइएको छ । १० गते शव फेला परेका दुवैजनाको शव आफन्तको जिम्मा लगाइएको छ भने २५ गते फेला परेको पूर्णबहादुर वलीको शव आफन्तले बुझेका छैनन् । उनको शव प्रादेशिक अस्पताल तुलसीपुर दाङमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।
ज्यान गुमाएका उनीहरुसहित ६ जनालाई शान्तिनगर गाउँपालिकाका जाइफली मिया मिटले श्रमका लागि भारत लगेको भन्दै मृतकका आफन्तले मियामाथि छानबिनको माग गरेका छन् । मियालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १५:०३