बेलायतमा पाँच वर्षमा तेस्रो पटक आज आमनिर्वाचन हुँदै

लण्डन : बेलायतमा आज आम निर्वाचन हुँदैछ । यो आम निर्वाचनमा ६५० जना सांसद निर्वाचित हुनेछन् । नेपाली समयअनुसार दिउँसो करिब १ बजेदेखि मतदान सुरु हुनेछ । यो मतदानमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबरसहित लिबरल डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुनेछ ।

बेलायतमा पछिल्लो पाँच वर्षमा तीन पटक आम निर्वाचन र एक पटक जनमत संग्रह भएको छ । बेलायतको इतिहासमा झण्डै एक सय वर्षपछि पहिलो पटक डिसेम्बरमा चुनाव हुन लागेको हो ।

सन् २०१५ र २०१७ मा आमनिर्वाचन भएको थियो भने २०१६ मा जनमत संग्रह भएको थियो । इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका ६ सय ५० संसदीय क्षेत्रका लागि आज मतदाताले आफ्नो मत प्रकट गर्नेछन् ।

शुक्रबार बिहान मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ । बेलायतमा सामान्यतया पाँच वर्षमा आमनिर्वाचन हुने भएपनि पछिल्लो समयमा ब्रेक्जिटको सकसकाबीच आफू अनुकुल संसद बनाउन आम निर्वाचन भइरहेको छ ।

सन् २०१५ को आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनको कन्जरभेटिभ पार्टी विजयी भएको थियो । तर एक वर्षपछिको जनमत संग्रहमा ब्रेक्जिटको पक्षमा मतपरिणाम गएपछि उनले राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि प्रधानमन्त्री बनेकी थेरेसा मेको नेतृत्वमा २०१७ मा भएको आम निर्वाचनमा केही सिट घटेपछि कन्जरभेटिभ पार्टीकै बहुमत आएको थियो । यसपटक बोरिस जोनसनको नेतृत्वमा हुने निर्वाचनमा पनि उनकै पार्टीले जित हात पार्ने मत सर्वेक्षणहरुले देखाएका छन् ।

गत अक्टोबरमा सांसदहरुले आमनिर्वाचनको पक्षमा मत दिएपछि पुनः आम निर्वाचन हुन लागेको हो । सन् १९७४ पछि बेलायतमा जाडो याममा हुन लागेको यो पहिलो निर्वाचन हो । त्यसअघि सन् १९२३ मा डिसेम्बरमा आमनिर्वाचन भएको थियो । एजेन्सी


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार १०:३४