यसवर्ष पर्वहरु मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाऔं: प्रधानमन्त्री

काठमाडौं – पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहने नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश ब्यक्त गर्नुहुँदै फ्ना पर्व घरमै बसेर सावधानीपूर्वक मनाउन आग्रह गर्नुभएको हो । ‘कोभिड–१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको छ,’ सन्देशमा भनिएको छ, ‘तसर्थ आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन म हार्दिक आह्वान गर्दछु ।’

आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाहरुले व्रत बसी मनाइने यस पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने उहाँले बताउनुभएको छ ।

जितिया पर्वमा आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । सप्तमीको बिहान व्रतालुहरुले नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी हुन्,’ प्रम ओलीले भन्नुभएको छ, ‘सहिष्णुता र सुदृढ एकता सहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा हामीले यस्तो सांस्कृतिक विविधताको रक्षा गर्दै आएका छौं । यी पर्वहरुले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् ।’


प्रकाशित | २५ भाद्र २०७७, बिहीबार ०९:३४