राष्ट्रपतिबाट पुस ४ मा संसद अधिवेशन आह्वान

काठमाडौं: राष्ट्रपतिले पुष ४ गतेका लागि संसद बैठक आह्वान गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) को व्यवस्था अनुसार पुष ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी गराउनुभयो ।

संसदको चौथो अधिवेशन गएको असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणीको मुद्दामा पक्राउ परेपछि राजीनामा दिनुभयो । हाल महरा काराबासमा छन् भने, प्रतिनिधिसभाको सभामुख पद खाली छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्ने सक्ने प्रावधान छ ।

अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नुहुनेछ । संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।


प्रकाशित | २४ मंसिर २०७६, मंगलवार १८:४२