उपचारका लागि अमेरिका लैजान छलफल

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने।प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ।

नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन्। नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ। प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फस्र्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गरेका थिए। ०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए।

ओलीले पुनः प्रत्यारोपण अमेरिकामै गर्न चाहेका छन्। ओलीलाई स्वास्थ्य उपचारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण धकेलिएको छ। उनी २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए।

आईसीयूबाट भने, ‘उठेर बोल्न सक्छु’

प्रधानमन्त्री केपी ओलीले आईसीयूबाटै भिडियो सन्देश पठाउँदै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन्। स्वास्थ्य बिग्रंदै गएको भ्रम चिर्दै सोमबार साँझ भिडियो सन्देश प्रवाह गरेका प्रधानमन्त्रीले डिस्चार्ज पनि ‘सरप्राइज’ ढंगले हुने
जानकारी दिए।

एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्ष ९आईसीयू० मा उपचाररत ओलीले उठेर बोल्न सक्ने अवस्थामा रहेको बताए। उनको गत मंगलबार शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रंदै गएको भन्ने हल्ला चलिरहेका बेला उनले भिडियो सन्देश सार्वजनिक गरेका हुन्। ‘शल्यक्रियापछि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचार हेर्न सक्ने अवस्थामा छु,’ उनले भनेका छन्।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली आफैंले स्वास्थ्य प्रगतिबारे जानकारी दिने चाहना व्यक्त गरेपछि व्यवस्था मिलाइएको बताए।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन समारोह पूरै हेरेको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले सागको प्रत्यक्ष प्रसारण आइप्याडमा हेरेका थिए। प्रधानमन्त्रीले उद्घाटन समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीलगायत सबैलाई धन्यवाद दिएका छन्। अन्नपूर्ण पोष्टबाट ।


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार ०८:२३