नेपाल ट्रस्टको जग्गा लिज प्रकरण, साढे पाँच अर्ब अनियमितता

काठमाडौं : दरबारमार्गमा रहेको नेपाल ट्रस्टको कार्यालय हटाएर थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा साढे पाँच अर्ब अनियमितता भएको पाइएको छ। दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’ मा मासिक एक करोड ८० लाख रूपैयाँ भाडा लिनुपर्ने भए पनि यती होल्डिङ्सको भगिनी संस्था थामसेर्कुलाई ४० लाखमै उपलब्ध गराइएको नागरिकलाई प्राप्त कागजातबाट देखिन्छ।

नेपाल ट्रस्टले बनाएको मूल्यांकन समितिले ट्रस्टको स्वामित्वमा दरबारमार्गमा रहेको एक रोपनी १४ आना जग्गा ३० वर्षलाई लिजमा दिँदा ६ अर्ब ४५ करोड प्रस्ताव गरेको थियो। तर नेपाल ट्रस्टले मूल्यांकन समितिको प्रस्ताव लत्याउँदै थामसेर्कुलाई भवन निर्माणको लागत कटौती गरेर एक अर्ब ४० करोडमा लिजमा दिएको हो। दरबारमार्गमा रहेको उक्त जग्गा लिजमा दिँदा साढे पाँच अर्ब अनियमितता भएको पुष्टि हुने नेपाल ट्रस्टकै उच्च अधिकारीहरूको भनाइ छ।

नेपाल ट्रस्टकोे कार्यालयलाई दरबारमार्गबाट विस्थापित गरेर उक्त ठाउँमा थामसेर्कु ट्रेकिङ प्रालिले पाँचतले सपिङ कम्प्लेक्स खडा गरिरहेको छ। उक्त जग्गा पूर्वराजपरिवारको नामबाट नेपाल ट्रस्टको नाममा आएको हो। नेपाल ट्रस्टको कार्यालय त्यहाँबाट कमलादीमा सरेको छ।

नागरिकलाई प्राप्त विवरणमा नेपाल ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा लिज सम्झौता भएको थियो। सम्झौतामा थामसेर्कु ट्रेकिङ प्रालिले एक रोपनी १४ आना जग्गा र त्यसमा बनेको संरचना प्रयोग गरेबापत ट्रस्टलाई मासिक ४० लाख उपलब्ध गराउनुपर्ने उल्लेख छ। यो समाचार आजको नागरिक दैनीकमा सुनील सापकोटाले लेखेका छन् ।


प्रकाशित | २ मंसिर २०७६, सोमबार ०९:१७