भ्रमण वर्ष सफल बनाउन जापानमा नेपाली दुतावास र एनआरएनएबीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय

टोकियो: नेपाल भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा गैर आवासीय नेपाली संघ जापान र नेपाली दुताबास जापानबीच छलफल भएको छ । छलफलमा नेपाल सरकारले मनाउन लागिरहेको नेपाल भ्रमण वर्ष सफल बनाउन दुवै पक्षबीच सहकार्य गरेर अगाडि बढाउने निर्णय भएको हो ।

एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार दाजदुतावासले बोलाएको बैठकमा नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो । बैठक राजदुत प्रतिभा राणाको अध्यक्षतामा गैर आवासीय नेपाली संघ जापानका प्रतिनिधी र राजदूतावास विच राजदूतावासमा भएको हो ।

शाहीका अनुसार, भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको निर्णय तथा परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम नेपाली कुटनैतिक नियोगहरुले नियोग रहेको मुलुकमा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम आयोजना गर्ने निर्णय अनुसार यही आउदो जनवरी ०७, २०२० मा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमको आयोजना गरिने भएको छ ।

त्यस्तै, भ्रमण वर्ष अवधिभर शृखंलाबद्द रुपमा पर्यटन प्रवर्धनात्मक कार्यक्रमहरु आयोजना गर्ने र सो कामका लागि राजदूतको संयोजकत्त्वमा एनआरएनए जापानको कार्यसमिति, जापानबाट एनआरएनए आइसीसीका पदाधिकारी तथा सदस्य, एनआरएनए जापानको क्षेत्रीय समितिका संयोजक, संघ संस्थाका प्रमुख, राजनैतिक दलका भातृ संगठन प्रमुख, पत्रकार महासंघ जापान, बुद्धिजीवी, जापान स्थित एभरेस्ट नेपाली स्कुलको प्रतिनिधी , पर्यटन व्यवसायसँग सम्बन्धीत ब्यतित्त्व सदस्य रहने गरी एक मूल आयोजक समीती गठन गर्ने निर्णय गरिएको छ ।

उक्त समिति गठनको लागि एनआरएनए जापानले अन्य सम्बन्धित सबैसँग समन्वयगर्ने, विभिन्न कार्यक्रमहरुको तयारी लगायत दूतावास र एनआरएनए एकआपसमा निरन्तर सम्पर्कमा रहि कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ ।


प्रकाशित | ३० कार्तिक २०७६, शनिबार १२:३७