अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

काठमाडौं : नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर बन्धक बनाउने कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले विगत एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पु¥याएर बन्धक बनाएको जानकारी दिनुभयो ।

“ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको समन्वयमा मलावीको गाउँबाट उद्धार गरी स्वदेश फर्काउन सफल भएका छौँ,” उहाँले भन्नुभयो । उद्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुईलाई ल्याउने क्रममा रहेको ब्यूरोले जनाएको छ ।

मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुसन्धानमा खुलेको छ ।

मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मलावी प्रहरी तथा मानव बेचविखन अनुसन्धान ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ अनुसार कारबाही हुने प्रवक्ता थपलियाले बताउनुभयो ।


प्रकाशित | २७ कार्तिक २०७६, बुधबार १०:५३