पोखराको सराङकोट डाँडामा ३५ करोड लगानीमा माउन्टेन लज सञ्चालन

दीननाथ बराल /पोखरा

पोखराको सराङकोट डाँडामा नेपाली परम्पराको सराङकोट माउन्टेन लज सञ्चालनमा आएको छ । समुद्री सतहदेखि १ हजार ६ सय मिटरको उचाइमा रहेको उक्त लज हालै सञ्चालनमा आएको सञ्चालक मध्यका एक विप्लव पौडेलले बताए ।

उक्त लजमा दुइटा सुइट रुमसहित ३० वटा रुमहरू रहेको सञ्चालक पौडेलले बताए । लजमा २८ वटा डिलक्स रुमहरू छन् भने उक्त लज स्थानीय ढुंगा, माटो सहितको पुरानो शैलिमा निर्माण भएको उनले जनाए । उनले भने, “पोखरामा दिगो पर्यटनका लागि हामीले लगानी गरेका हौं, पोखरामा गुणस्तरीय पर्यटकहरूका लागि सराङकोटको उक्त डाँडा क्षेत्रमा होटलहरू नभएकोले गर्दा होटलमा ठूलो लगानी गरेका हौं ।” पौडेलसहित नारायण पहारीको लगानीमा होटल बाराहीले उक्त लज सञ्चालन गरेको हो ।

उक्त होटलमा करिब ३५ करोड लगानी भएको पौडेलले बताए । ८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त लजले स्थानीय उत्पादन र स्थानीयलाई रोजगारको अवसर दिएको लजका व्यबस्थापक प्रदीप न्यौपानेले बताए । उनका अनुसार ८० जना क्षमताको सभाहल, स्पाः मसाज, रेस्टुराँ बार, टप सुइमिङपुल, लाउन्ज रुमको सुविधा भएको छ । उक्त सुइमिङपुलबाट माछापुछ्रे, अन्नपूर्ण सहितको हिमश्रृंखला, हेमजा फाँट, पोखरा, फेवाताललगायतका दृश्य अवलोकन गर्न सकिने भएको व्यवस्थापक न्यौपानेले जनाए ।

उक्त बोरिङ १४ घण्टा चल्दा ४० हजार लिटर पानी उपलब्ध हुने भएको उनले जनाए । करिब ३० लाखको लगानी भएको उक्त बोरीङबाट करिब ३० प्रतिशतजसो स्थानीयलाई पानीको व्याबस्था मिलाएको व्यवस्थापक न्यौपानेले बताए । उनले भने, “हामीले दुई दिनको बसाई लम्बाउने गरी, यो होटल सञ्चालन गरेका हौं, पोखराको मुख्य बजारदेखि साढे १३ किलोमिटर टाडा रहेको यस होटल दृश्यावलोकनका लागि निकै रमणीय छ ।” उक्त लजदेखि नजिक रहेको कास्कीकोट दरबार, ठूलीपोखरी, जंगल वाक, छोटो हाइकिङ ९लजदेखि तोरीपानी, नौडाँडासम्म० को क्षेत्रमा पर्यटकहरूलाई घुमफिर गर्न सकिने भएको न्यौपानेले जनाए । उक्त लजबाटै जिप फ्लायर, प्याराग्लाइडिङ, चराचुरुङगी, साइकिलिङ गर्न सकिने भएको उनले जनाए ।

केही महिनामा सञ्चालनमा आउने केवलकारसमेत उक्त लजदेखि नजिक हुने व्यबस्थापक न्यौपानेले बताए । उक्त लज करिब दुई वर्षमा निर्माण सम्पन्न गरिएको हो । ३२ जनालाई रोजगार दिएको उक्त लजले ४० प्रतिशत स्थानियलाई रोजगारको अवसर प्रदान गरेको छ । हाल उद्घाटनको अवसरमा लजले जोडीको एक रातको १० हजार, एकलको ८ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको व्यवस्थापक न्यौपानेले जनाए ।


प्रकाशित | २६ कार्तिक २०७६, मंगलवार १०:२९