लण्डन कविता कन्सर्टमा संकलित कोषबाट सिन्धुपाल्चोकमा बन्ने पुस्तकालय भवनको शिलान्यास

लण्डन: गत महिना लण्डनमा आयोजित कविता कन्सर्टमा संकलित रकमबाट सिन्धुपाल्चोकको एक विद्यालयमा स्थापना गर्न लागिएको पुस्तकालय भवन निर्माणको काम सुरु भएको छ । त्रिपुरासुन्दरी गाउंपालिका ६ टेकानपुरको कालिका माविमा निर्माण हुने अत्याधुनिक विद्युतीय पुस्तकालयको २ कोठे भवन शिलान्यास गरिएको छ । जान्वी फाउण्डेसनकी अध्यक्ष समेत रहेकी नायिका जान्वी बोहराले पुस्तकालय भवनको शिलन्यास गरेकी हुन् ।

क्षेत्री समाज यूकेको आयोजनामा लोकप्रिय युवाकवि नवराज पराजुलीको सहभागितामा गत मार्च १७ मा लण्डनमा सम्पन्न कविता कन्सर्ट २ बाट संकलित रकमबाट यो पुस्ताकालय बन्न लागेको हो । नायिका जान्वीको नेतृत्वमा रहेको फाउण्डेसनको आर्थिक तथा ब्यबस्थापकिए सहकार्यमा पुस्तकालय बन्नेछ ।

भवन शिलन्यास समारोहमा फाउण्डेसनकी अध्यक्ष एवम् नायिका बस्नेतले विगतमा आफुले पढेको विद्यालयमा अध्ययनरत विद्यार्थीरुको लागि आधुनिक पुस्तकालय निर्माण गर्ने आफ्नो लामो समयदेखि सपनाले मूर्त रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । पुस्तकालय निर्माणको लागि महत्वपुर्ण सहयोग गर्ने लण्डन कविता कन्सर्टका संयोजक रामशरण सिम्खडा, क्षेत्री समाज यूके र समाजका अध्यक्ष राजन क्षेत्री र महासचिव कुमार केसीप्रति जान्वीले आभार प्रकट गर्नुभयो ।

लण्डन कविता कन्सर्ट २ को संयोजन गरेका एनआरएन अभियन्ता रामशरण सिम्खडाले पुस्तकालय निर्माणको काम केहि महिनाभित्रमै पूरा गर्ने गरी सुरु भएको जानकारी दिनुभयो । कन्सर्टबाट संकलित १७ लाख रुपियामध्ये पहिलो किस्ता नेपाल पठाइसकिएको र बांकी रकम काम अघि बढेपछि पठाइने सिम्खडाले जनाउनुभयो । नायिका बोहराकै संयोजनमा कलाकार दीपक क्षेत्रीको उपचारको लागू समेत क्षेत्री समाज बेलायतले ४ लाख रूपैया सहयोग गरेको थियो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १२:५२