श्रीकृष्ण सुलु
ज्ञानेन्द्र शाही लागायतका केही अभियन्ताहरु भ्रष्टाचारविरोधी प्रचारमा लागेको भनिए पनि भ्रष्टाचारको मूल कारणको विश्लेषण र विरोध नगरी परिणाम या सतही कुरामा मात्र केन्दृत हुनाले उहाँहरुको गतिविधि रक्सीको विरोध नगर्ने अमलको मात्र विरोध गर्ने अवैज्ञानिक खालको देखिएको छ । सतही अभियन्ता, लहडी जनता भ्रष्ट नेता, दास कार्यकर्तावाट भ्रष्टाचार अन्त्य हुँदैन, उल्टो मौलाउन्छ मात्र। भ्रष्टाचार अन्त्य गर्न भ्रष्टाचारको परिणाम होइन कारण खोज्नु पर्छ । भ्रष्टाचारको मूल कारण या आधार नखोतली वा त्यसमा प्रहार नगरी भ्रष्टाचार अन्त्य गर्छु वा विरोध गर्छु भन्नुको कुनै अर्थ हुन्न । त्यसैले यहाँ भ्रष्टाचारको कारणहरु र त्यसको निवारणका वारे केही प्रष्ट पार्न खोजिएको छ ।
शास्त्रीय वा वैज्ञानिक अध्ययन र विश्लेषण नगरी घटनावाट मात्र विचार निर्माण गर्नु गलत
आजकल विषयवस्तुलाई गहिरिएर बुझ्ने भन्दा नि केही घटनाको आधारमा विश्लेषण गर्ने वा विचार निर्माण गर्ने वानी बसेको छ । विषयवस्तुलाई शास्त्रीय आधारमा वा वैज्ञानिक ढंगले विश्लेषण गर्दा मात्र तथ्यवाट सत्य पत्ता लगाउन सकिन्छ । समाजको नियमलाई विज्ञानको रुपमा नवुझी घटनाको आधारमा मात्र विचार निर्माण गर्नाले सही कुरा थाहा हुन्न । सारलाई भन्दा रुपलाई मात्र जोड दिनाले रुख ढाल्न पात टिप्ने तर जरामा मलजल गर्ने अथवा रक्सीको विरोध नगर्ने अमलको मात्र विरोध गर्ने उल्टो काम हुने गर्छ । त्यसैले भ्रष्टाचारको अन्त्य गर्न पनि त्यसको असर या परिणाम होइन मूल कारण खोतल्नु र त्यसैको निवारण गर्नु नै सही वा वैज्ञानिक हुन्छ ।
भ्रष्ट सत्ता नै भ्रष्टाचारको मूल कारण
भ्रष्टाचारको मूल कारण भनेकै शोषणमा आधारित भ्रष्ट सत्ता, भ्रष्ट नेता, दास कार्यकर्ता, लहलहैमा लाग्ने जनता, शक्तिको भक्ती गर्ने समाजिक अवस्था हो । शोषणमा आधारित सत्ता भनेको शक्ती हुनेले नहुनेलाई, धनीले गरीबलाई, बुद्धी हुनेले बुद्धी नहुनेलाई, शहरले गाउँलाई, कथित उच्चले कथित तल्लोलाई गरिने शोषण(उत्पीडन आदी हुन्। यी वेथिति या शोषण(उत्पीडनहरु राजतन्त्रमा मात्र होइन लोकतन्त्र(गणतन्त्रमा पनि छ भने भ्रष्टाचार रोकिन्न । शक्ती हुनेले जे गरेनी हुने, धनीले जे पनि गर्न पाउने, बुद्धी हुनेले कानुनको नौसिंङ प्रयोग गर्ने, शहरमा मात्र सुविधा हुने, श्रम गर्ने भन्दा शोषण गर्ने धनी हुने, मान सम्मन पाउने अवस्था र व्यवस्था रहुन्जेल भ्रष्टाचारको मौलाई रहन्छ किनभने शोषणमा आधारित व्यवस्था नै भ्रष्ट व्यवस्था हो । त्यसैले भ्रष्ट व्यवस्थाको विरोध नगरी भ्रष्टाचारको विरोध गर्नुको कुनै अर्थ हुन्न ।
धनसम्पतीलाई ज्यादा महत्व दिने समाज, सोच, शैली र व्यवस्था रहेसम्म भ्रष्टाचार रोकिन्न
धनसम्पतीलाई इज्जत र नैतिकतालाई भन्दा ज्यादा महत्व दिने समाज, सोच, शैली र व्यवस्था नै भ्रष्टाचारको मूल कारण या श्रोत हो । जसरी कमाए नि, जति धेरै सम्पती उति धेरै इज्जत, जति ठुलो घर, जग्गा, गाडी उति ठुलो मान सम्मान प्राप्त हुने समाज भएसम्म मानिसमा इज्जत होइन जसरी नि पैसा कमाउनु पर्ने रहेछ भन्ने सोच पैदा हुन्छ । त्यही गलत सोच अनुसारको शैली विकास हुन्छ । त्यस्ता गलत सोच, शैलीलाई प्रश्रय दिने, तथा पैसा भए जे पनि हुने व्यवस्था भएपछि भ्रष्टाचार झन्झन् मौलाउन्छ । त्यसैले पैसा भए जे पनि हुने व्यवस्था नै भ्रष्टाचारको मूल कारण या आधार हो । धनसम्पतीलाई ज्यादा महत्व दिने समाज, सोच, शैली र व्यवस्था रहेसम्म भ्रष्टाचार रोकिन्न । भ्रष्टाचारको समूल अन्त्य गर्ने हो भने भ्रष्टाचारका यी सबै आधारहरु अन्त्य गर्नैपर्छ ।
भ्रष्टाचारको विरोध गर्नु तर पूँजीको शासनको विरोध नगर्नु धोखा दिनु हो
समाजमा बुद्धिको होइन पूँजीको शासन पनि भ्रष्टाचारको अर्को कारण हो । समाजमा डाक्टर, ईन्जिनियर, शिक्षक, बुद्धिजिवी या धेरै पढेलेखेकोले भन्दा विचौलिया, माफिया, कालाबजारीले धेरै पैसा कमाउने र उसैको बोलबाला हुने या ठूलो मान सम्मान हुने भएपछि मानिसहरु अनियमितता गर्न उत्प्रेरित हुन्छन् । भ्रष्टाचारको विरोध गर्नेले समाजको यो विकृतिको पनि विरोध गर्नु पर्छ । भ्रष्टाचारको विरोध गर्नु तर यो विकृतिको विरोध नगर्नु भनेको धोखा दिनु मात्र हो । ज्ञानेन्द्र शाही लगायतका केही मानिसहरुमा भ्रष्टाचारको विरोध गर्ने भन्ने तर भ्रष्टाचारको यी कारणवारे मौन बस्ने या अदेखा गर्ने प्रवृती छ, जुन गलत छ । रक्सी को विरोध नगर्ने तर अमलको मात्र विरोध गरी राख्ने ढोंगी प्रवृतिले समस्या समाधान हुन्न । अमलको विरोध गर्ने हो भने सबभन्दा शुरुमा रक्सी को विरोध गर्नु पर्छ ।
भ्रष्ट व्यवस्था सामन्तवादको समर्थन गरेर भ्रष्टाचारको विरोध गर्नु पाखण्डी मात्र
राजतन्त्र या सामन्तवाद भनेको राज्यश्रोतको दोहन, लुट र भ्रष्टाचार, शोषण र उत्पीडनमा आधारित भ्रष्ट व्यवस्था हो। सामन्तवादमा शोषणको आधार जमिन हुन्छ । राजा भनेको जमिन्दारहरुको नेता हो । ज्ञानेन्द्र शाहीहरु एकातिर भ्रष्टाचारको विरोध गरेको भन्नु हुन्छ भने अर्कोतिर भ्रष्टाचारको मलजल गर्ने सामन्ती सत्ताको गुणगान गाउनुहुन्छ । सामन्ती सत्ताको समर्थन गरेर भ्रस्टाचारको विरोध गर्छु भन्नु चोरले नैतिक पाठ पढाउनु जस्तै हो । आधा रसातलको विकल्प पूरा रसातल हुन सक्दैन ।
मल्लकालमा युरोप जतिकै विकसित देश शाहकालपछि कंगाल
ज्ञानेन्द्र शाहीका धेरै जसो अभिव्यक्ती अत्यन्तै सतही, विरोधाभासपूर्ण र गलत छन् । उहाँका अनुसार शाहकालमा धेरै विकास भएको र अहिले मात्र विग्रेको जस्तो भान हुन्छ । यथार्थ कुरा मल्लकालमा नेपालको विकास जर्मन वा युरोप को जति थियो तर शाहकाल पछि नेपाल विश्वकै गरीब मुलुकमा परिणत भयो ।
साँस्कृतिक स्तर र अध्यात्मिक गुण आवश्यक्
मानिसले आफुलाई दश गुणा बढी फाइदा हुन्छ भने आफैलाई नै झुण्ड्यानी हुन्छ भन्छ, नैतिकतालाई पैसाले जित्ने समाजमा । चीन लगायतका देशमा भ्रष्टाचारीलाई मृत्यु दण्डको सजाय छ तर पनि भ्रष्टाचार रोकिएको छैन । लागु औषध लगायतको कारोवारमा कडा भन्दा कडा सजाय छ तर पनि लागु औषध कारोवार रोकिएको छैन किनभने धेरै फाइदा भएमा मानिसले मर्ने नै भए नि गर्छ, पैसा सर्वेसर्वा हुने समाजमा । त्यसैले समाजको चरित्र बदल्नु नै मुख्य कुरा हो । यसो नगर्ने हो भने फाँसीको सजाय होस् या जन्मकैद वा सर्वस्वहरण होस्, भ्रष्टाचारको जालो तोड्न गार्है हुन्छ । मानिसको सँस्कृतिक स्तर र अध्यत्मिक गुण महत्वपूर्ण हुन्छ । साँस्कृतिक स्तर भनेको कुन काम गर्न योग्य छ कुन अयोग्य छ भन्ने थाहा हुनु र त्यही अनुसारको आचरण बनाउनु हो । अध्यात्मिक हुनु भनेको कसैले देखे भन्ने मात्र राम्रो गर्ने अरुले देखेन भने बेइमानी गर्ने होइन कि सधै राम्रो काम गर्ने चेतना हो । त्यसैले भ्रष्टाचार निर्मूल गर्न साँस्कृतिक र अध्यात्मिक स्तर उच्च पार्न जोड दिनु पर्छ ।
लहडले भ्रष्टाचार निर्मूल हुन्न
नेपाली जनता लहडबाजी छन् । गहिरिएर बुझ्ने र सोच्ने भन्दा पनि सतही र क्षणिक कुरामा लहै लहैमा लाग्ने बानी छ । घर घरमा मेलम्ची आएन भनेर आन्दोलन गर्दैनन् कुनै क्लबमा मार्समेल्लो आएन भनेर आन्दोलन गर्छन् । लहडले भ्रष्टाचार निर्मूल हुन्न। ज्ञान र सोचाइको दायरालाई फराकिलो पार्नु पर्छ भ्रष्टाचार अन्त्य गर्न ।
नेपाली जनताको बानी छ, जुलुसमा अलि धेरै मान्छे देखिएपछि आफु पनि त्यसैमा मिसिने । १(२ हजारको जुलुस निस्केपछि त्यसको पछि पछि आफू पनि दौडने चलन छ । सतहमा बग्ने र ठुलो शक्ति देखे पछि त्यसकै पछि पछि लाग्ने सामन्ती शैली वा भेडा शैलीले आज ज्ञानेन्द्र शाहीको वही वाही गर्यो भने भोली यही शैलीले राजनीतिक पार्टी लाई वाही वाही गर्छ कुनै हल्ला चल्ने वितिकै । त्यसैले लहड वा भावनामा बगेर होइन विचारमा उठेर मात्र भ्रष्टाचार निर्मूल पार्न सकिन्छ ।
देवत्वकरणले दुष्परिणाम निम्त्याउन्छ
कुनै समय ओलिको विरोध गर्नु भरतको समर्थन गर्नु जस्तै थियो । अहिले ज्ञानेन्द्र शाहिको विरोध गर्नु भ्रष्टाचारको समर्थन गर्नु जस्तै भएको छ
देवत्वकरण वैचारिक शक्ती भौतिक शक्तिमा रुपान्तरण त हो तर गलत ढंगले सवल चिज देख्दा दुर्वल चिज नदेख्ने या विपरीत सम्भावनाको ख्याल नगर्ने अधिभूतवादी चिन्तनले गर्दा यस्तो भएको हो गुण र दोषको आधारमा समर्थन र विरोध नगरी देवत्वकरण गर्नाले दुष्परिणाम निम्त्याउन्छ ।
राजनीतिक त्रिशुल बाबाहरु
कहिले लोकतन्त्र आएपछि त कहिले गणतन्त्र आएपछि निस्शुल्क शिक्षा, स्वास्थ्य हुन्छ, भ्रष्टाकार अन्त्य हुन्छ्, देश विकास हुन्छ भन्ने राजनीतिक नेताहरु भुईँचालो आउन्छ भनी ठग्ने त्रिशुल बाबा जस्तै हुन्। ७ साल, ०४६ साल, ६२(६३ साल कुनै पनि बेला देखाइएको सपना नेताहरुले पूरा गरेका छैनन् । राजनीति भनेको राज्यको निती या सबै नितिको राजा हो त्यसैले नेता सुधृयो भने सबै सुधृन्छ । मूल सफा भयो भने मात्र नदी सफा हुन्छ । त्यसैले राजनिती र राजनितिक नेता भ्रष्टाचार मुक्त भयो भने मात्र बल्ल अरु क्षेत्र पनि भ्रष्टाचार मुक्त हुन्छ ।
दोहोरो मापदण्डस् आफुले गरे ठीक अरुले गरे बेठीक
सबैले हिटलरको विरोध गर्छन् तर सबै हिटलर बन्न चाहन्छन् भने जस्तै भ्रष्टाचार पनि आफुले गरे ठिक अरुले गरे बेठीक भन्ने दोहोरो मापदण्डको व्यवहारले भ्रष्टाचार कहिले अन्त हुन्न ।
बेइमान गर्ने अवसर पाएर नि इमान्दार बन्ने आवश्यक
शक्तिले भ्रष्ट बनाउन्छ, धेरै शक्तिले धेरै भ्रष्ट बनाउन्छ भनिन्छ । हामीलाई त शक्तिमा पुगेर पनि भ्रष्ट नहुने मानिस र व्यवस्था चाहिएको हो । यहाँ धेरै मानिस हरु बेइमान गर्ने अवसर नपाएर इमान्दार बनेका देखिन्छन् ।बेइमान गर्ने अवसर पाएर इमान्दार हुनेले मात्र भ्रष्टाचार अन्त्य हुन्छ ।
विरोध भन्दा समालोचना आवश्यक
भ्रष्टाचारको विरोध भन्दा नि यसको समाधन कसरी हुन्छ भन्ने मुख्य कुरा हुन्छ । अविकसित देशमा प्रतिपक्षीय भावना प्रवल हुन्छ । यो छैन, त्यो छैन, यो भएन, त्यो भएन भन्ने आवाज धेरैले राख्छन् तर नभएको चीज कसरी ल्याउने भन्ने समाधान दिनेहरु खासै हुन्नन् । विरोध भन्दा समाधान मुख्य कुरा हो । समाधान सहितको आलोचना या समालोचना अहिलेको आवश्यकता हो । त्यसैले भ्रष्टाचारको पनि समाधान सहितको आलोचना आवश्यक छ ।
गणतन्त्रमा जस्तो जनता त्यस्तै नेता
लोकतन्त्रमा जनता सर्वेसर्वा हुन् । जनताले भ्रष्ट नेताहरुलाई दण्डित गर्न सक्छन् । राजतन्त्रमा जथा राजा तथा प्रजा अर्थात जस्तो राजा त्यस्तो प्रजा हुन्छ । अहिले गणतन्त्रमा जथा जनता तथा नेता वा जस्तो जनता त्यस्तै नेता हुने हो । जनताले भ्रष्ट नेतालाई कारबाही गरे भने नेता इमान्दार हुन कर लाग्छ ।
जसरी रुख ढाल्नलाई पात टिपेर हुन्न, जरामै हान्नुपर्छ, त्यसरी नै भ्रष्टाचार अन्त्य गर्न पनि त्यसको परिणाममा होइन कारण या जरामा नै हान्नुपर्छ । साथै एकातिर भ्रष्टाचारको रुख ढाल्छु भनेर पात टिपे जस्तो गर्ने अर्कोतिर जरामा मलजल गर्ने पाखण्डी व्यवहार पनि गर्नु हुन्न ।
इतिहासको निर्माता जनता हुन न कि कोही राजा महाराजा । जनताले देश निर्माण गरेका पनि छन्, बिनिर्माण गरेका पनि छन् । सतही, लहडवाजी या पिछलग्गु भएर होइन तथ्य, तर्क र विवेक सहितको जनताले मात्र भ्रष्टाचार अन्त्य गर्न सक्छ । यस निम्ति स्वार्थी नेता, दास जस्ता कार्यकर्ता, सतही अभियन्ता, लहडवाजी जनता र समालोचनात्मक दृष्टिकोणविनाको समाजमा व्यापक परिवर्तन जरुरी छ । जनता सचेत हुनु र अचेत हुनुमा सबै चीज निर्भर गर्छ । जनता सचेत हुँदा सदाचारीलाई फाइदा हुन्छ, जनता अचेत हुँदा भ्रष्टाचारीलाई फाइदा हुन्छ ।
प्रकाशित | ४ कार्तिक २०७६, सोमबार २२:०७