एनआरएनएको नेतृत्व चयन प्रक्रियालाई सुर्धान तत्कालै कदम चाल्नुपर्ने आवश्यकता देखियो: जीवा लामिछाने

काठमाडौ: गैर आवासीय नेपाली सघको नेतृत्व चयन गाह्रो र असाध्यै खर्चिलो हुँदै गएकोमा पूर्व अध्यक्ष जीवा लामिछानेले चिन्ता ब्यक्त गर्नुभएको छ । संघको सम्पन्न नवौ महाधिवेशन तथा निर्वाचनमा समेत केही अनपक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परेकोमा चिन्ता ब्यक्त गर्दै नेतृत्व चयन प्रक्रियालाई सुर्धान तत्कालै कदम चाल्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व अध्यक्ष लामिछानेले भन्नुभएको छ, ‘हाम्रो संगठनको बिस्तारले गर्विलो इतिहास निर्माण गरेको भए पनि केही अनपक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परिरहेको हामी सबैले यसपटक महसुस गर्यौं । नेतृत्वको चयन गाह्रो र असाध्यै खर्चिलो हुँदै गयो । हामीले नेतृत्व चयनको प्रक्रियालाई सुधार गर्न तुरन्तै कदम चालेनौं भने धेरै ठूलो वर्गको यो संगठनप्रति मोहभंग हुने अब निश्चित भइसक्यो ।’  पूर्व अध्यक्ष लामिछानेद्धारा जारी बिज्ञप्ति जस्ताको तस्तै :–

सन्दर्भ : गैरआवासीय नेपाली संघको नवौ बिश्व सम्मेलन

हाम्रो संगठनको बिस्तारले गर्विलो इतिहास निर्माण गरेको भए पनि केही अनपक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परिरहेको हामी सबैले यसपटक महसुस गर्यौं । नेतृत्वको चयन गाह्रो र असाध्यै खर्चिलो हुँदै गयो ।

हामीले नेतृत्व चयनको प्रक्रियालाई सुधार गर्न तुरन्तै कदम चालेनौं भने धेरै ठूलो वर्गको यो संगठनप्रति मोहभंग हुने अब निश्चित भइसक्यो । हाम्रो भूमिकाको बारेमा गहन छलफल गर्नु पर्ने सम्मेलन चुनाव केन्द्रित र बिभिन्न किसिमका उचित, अनुचित र असामयिक प्रभावको कैदी हुँदै गएको छ । यस्तो प्रवृत्ति बढ्दै गएमा हाम्रो सांगठनिक शक्ति उद्देश्यच्युत र पथभ्रष्ट हुने ठूलो खतरा छ । यो अवस्थातिर जानबाट संगठनलाई रोक्ने जिम्मा एउटा कुनै कार्यसमिति वा पदाधिकारीको होइन, गैरआवासीय नेपाली संघसँग जोडिएका हरेक सदस्यको हो भन्ने आत्मसात गरौं । नेपालमा हामीले गर्ने हरेक क्रियाकलापलाई अत्यन्त सुक्ष्म ढंगले हेर्ने गरिन्छ र एयरपोर्टदेखि एयरपोर्टसम्म हामीले गर्ने व्यवहारले सम्पूर्ण समुदायलाई प्रतिनिधित्व गर्छ भन्ने कुरा पनि हरदम सम्झिनु जरुरी छ।

हाम्रो सम्मेलनलाई दशैंमा पारिवारिक भेटघाट र रमाइलो गर्न मातृभूमि फर्केको जमातको जमघट र कुनै एक व्यक्तिको क्रियाकलापलाई सम्पूर्ण समुदायको प्रतिनिधि घटना ठान्ने प्रवृत्ति नेपालमा व्याप्त छ। हामी एकताको संदेश दिन, सहमतिको वातावरण निर्माण गर्न, विकास र समृद्धिको एजेण्डामा गहन विमर्श गर्न र विश्वमा हासिल गरेका उत्कृष्ट अनुभव र संस्कारको नेपालमा प्रदर्शन गर्न चुक्यौं भने ती आरोप झन् घनिभूत हुने र यथार्थ ठहरिनेछन् ।

यो संगठनको अस्तित्वको सारमा रहेको ‘नेपालीका लागि नेपाली’ भन्ने महान मन्त्रको उच्चारण गर्दै, सम्मेलन अवधिमा भोगेका नकारात्मक अनुभवलाई बिर्सेर आ(आफ्नो कर्मभुमिमा फर्केपछि एकता र भाइचाराको संदेश छर्न र संगठनमा अझ धेरै नेपालीको सहभागितालाई सुनिश्चित गर्न र नेपालको समृद्धि अभियानमा उत्साहका साथ जोडिन नयाँ कार्य समितिका साथीहरुलाई सफलता मिलोस, शुभकामना ।


प्रकाशित | २ कार्तिक २०७६, शनिबार १०:४५