यो जित मेरो प्यानलको मात्र हैन,आम व्यवसायीको हो: विष्णु गैरे

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारण सभाबाट लोकतान्त्रीक गठबन्धनका विष्णु गैरेको प्यानलले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न मतगणनाबाट गैरेको टिमले जित हासिल गरेको छ । दुई बर्षे कार्यकालको लागि नेकपा निकट प्रगतिशिल र काग्रेस निकट लोकतान्त्रीक फोरमले आ आफ्नो टिम बनाएर निर्वाचनमा होमिएको थियो । निर्वाचनमा ६२१ मत खसेको थियो । त्यो मध्ये अध्यक्ष गैरेले ३३० मत ल्याएका थिए भने उनको प्रतिद्धन्दी सरोज पोखरेलले २८२ मत ल्याएका थिए । नवनिर्वाचित अध्यक्ष गैरेसँग सुवास योञ्जनले गरेको कुराकानीको सम्पादित अशं :

सत्तारूढ दल नेकपाका विभिन्न संघसंगठन मिलेर सयुक्त रुपमा चुनाव लड्दा पनि तपाइको टिमले विजयी प्राप्त गरेको छ । अब बिपक्षीहरूलाइ समेत साथमा लिएर संघलाई कसरी अघि बढाउनुहुन्छ ?

सर्वप्रथम मलाई र मेरो टिमलाई भोट दिनु हुने सम्पूर्णलाई मतदातालाई धन्यवाद दिन चाहन्छु । हामीले उठाएको एजेन्डा मन परेकै कारण सबैले मत दिएर विजयी गराउनु भएको हो । त्यसैले अहिलेको एजेन्डा चुनावी नारा मात्र नबनाइ सरकार र सम्बन्धित निकायहरुसँग छलफल गरेर समस्या समधान गर्न लाग्छु । हामीले उठाएको विभिन्न एजेन्डाहरु मध्ये सेवा शुल्क, लाइसेन्स नविकरणका विषयहरु प्रमुख रहने छन् । मन्त्री, विभाग र राजदुतावासहरुसँग नजिक रहेर हामी काम गर्न चाहन्छौं ।

व्यवसायमा धेरै समस्या छन्, त्यहा समधान पनि हुन्छ । त्यही समस्या समधान निकाल्नकै लागि हाम्रो टिमको विजय भएको हो । हामी सबै व्यवसायी एक भएर समस्या समधानका लागि अगाडी बढ्ने छौं । हामीले उठाउने एजेण्डा कार्यसमितिको मात्र नभइ आम व्यवसायीको भएकोले सबै मिल्नुको विकल्प छैन् । हाम्रा एजेण्डाहरु प्राथमिकताका साथ मन्त्रालयमा छलफल गर्नुपर्छ  । विभाग र अन्य निकायमा छलफल गरेर एक, दुई, तीन गरेर समस्या समधान गर्दै लैजान्छौं ।

अघिल्लो नेतृत्वसँग श्रम मन्त्री गोकर्ण विष्टको सम्बन्ध राम्रो हुन सकेको थिएन् । अहिले त झन फरक विचारधारा भएको अध्यक्ष आउनु भएको छ । यहाँको टिमलाई काम गर्न निकै गाह्रो होला नी ?

मेरो श्रम मन्त्रीज्यूसँग दुरी कुनै टाढा छैन् । पहिला पनि राम्रो थियो । अब पनि राम्रो हुन्छ । हाम्रो साधारण सभामा आएर पनि उहाँले व्यवसायीको माग सुन्न तयार छु, छलफल गर्न तयार छु भन्नु भएको छ । त्यसैले म उहाँसँग ढुक्क छु । किन की मैले पनि श्रमिक र व्यवसायीकै हितमा कुरा गर्ने हो । टेबलमा बसेर वार्ता र छलफल गरेर अगाडी बढ्छौं ।

सेवा शुल्कको विषयमा पनि व्यवसायीहरुले दुखेसो पोख्दै आउनु भएको छ । तपाईको कार्यकालमा समधान होला त ?

हाम्रो पहिलो मुद्धा भनेकै सेवा शुल्कको हो । अहिले दिएको सेवा शुल्क हामीलाई पर्याप्त छैन् । सरकारले २ करोड रुपैयाँ धरौटी पुर्याउदै गर्दा व्यवसायीले पाउने सेवा सुविधा भने न्यून हुदै जानु त भएन नी । अहिले मलेसियाको विषय पनि राम्रो सँग क्लीयर हुन सकेको छैन । खाडी मुलुकमा पनि अहिले माग धेरै छैन् । यो बेलामा सेवा शुल्क पनि न्यून हुदा व्यवसायी त धेरै मर्कामा परेका छन नी । १० हजारले खर्च धान्न सक्दैन । यो परिमार्जन हुनुपर्छ भन्ने माग पहिला देखिकै हो ।

सरकारलाई हामीले दुइवटा बिकल्प दिएका छाै  । पहिलो आइएलओको नियम अनुसार पाउनु पर्ने पारिश्रमिक अनुसार छ भने त्यहाँबाट मिलाउनु पर्छ । यो विभिन्न मुलुकमा प्रचलनमा रहदै आएको छ ।  कुनै इन्जिनियर,डाक्टरलाई विदेशमा पठायौं भने उसले १ लाख रुपैया बुझाउनु पर्यो । महिनाको तलब ५ लाख रुपैया छ भने व्यवसायीलाई एक महिनाको पारिश्रमिक दिन किन सकिदैन भनिन्छ । त्यस्को पनि मापदण्ड बनाउ ।  ५० हजार रुपैयाँ भन्दा माथि तलब खानेसँग कति लिने र त्यो भन्दा तल खानेसँग कति लिने भन्ने त्यसको मापदण्ड बनाउनु पर्छ भन्ने माग लिएर अगाडी बढ्छु ।

जहाँ हामीलेले ब्याज पनि पाउदैनौं । ४ अर्ब रुपैयाँ भन्दा बढि रकम सरकारसँग छ भने त्यहि बराबरको रकम निजी बैङ्कहरुसँग रहेको छ । यस विषयमा कानुनविद र अर्थविदसँग बसेर छलफल गरेर कसरी अगाडी बढ्दा ठिक हुन्छ भन्ने विषयको टुंगो लगाउछु ।

मलेसियाको रोजगारी १५ महिनापछि खुलेको छ । अहिले पनि सहज रुपमा कामदार पठाउन सकिएको छैन भन्ने सुनिन्छ । यसलाई कसरी अगाडी बढाउनु हुन्छ ?

मलेसियाको रोजगारी जसरी बन्द भयो, त्यसैगरी खुलेको छ । १५ महिनासम्म व्यवसायीहरुले दुःख पाएका छन् । कतिले आफ्नो व्यवसायबाटै हात धुनुपरेको अवस्था आयो भने धेरै व्यवसायीहरु आर्थिक संकटमा पनि परे । अब पनि त्यही किसिमको समस्या नहोस भनेर म छिट्टै सम्बन्धित निकायहरुसँग बसेर छलफल गर्छु ।

प्रगतिशील समूहका सबैले हार व्योहरेका छन् । उहाँहरु अहिले सत्तापक्षको पनि हुनुहुन्छ । यस्तो अवस्थामा कसरी मिलाएर बढ्नु हुन्छ ?

यो जित मेरो प्यानलको मात्र हैन,आम व्यवसायीको हो । निर्वाचन प्रक्रिया भनेको संघमा जाने माध्यम मात्र हो । यो बेला विभिन्न विचार मिल्नेहरुसँग गठबन्धन गरेर निर्वाचनमा होमिन्छौं र जितेपछि आम व्यवसायीकै हुन्छौं । अहिले हामी गएका छौं,पहिला अर्को खेमा गएका थिए । त्यसैले संघमा कुनैपनि राजनीतिक गन्ध आउन नदिन म आफैबाट सुरु गर्छु । अहिले मेरो नेतृत्वको टिमले विजयी गरेपनि सरोजजीको टिम पनि कार्यसमितिनै हो । हाम्रो जस्तै अभिभारा उहाँहरुको पनि हो । मिल्यो भने ३४ जनाकै कार्यसमिति बनाउने र भएन भनेपनि उहाँहरुलाई कार्यसमितिको सदस्य सरहकै मान्यता दिएर हातेमालो गरेर अगाडी बढ्ने छु । क्यापिटल नेपाल


प्रकाशित | ८ आश्विन २०७६, बुधबार २३:११