आठौं राष्ट्रिय खेलकुद आजदेखि : उद्घाटन अघि ५ खेलमा प्रतिस्पर्धा

काठमाडौं: आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन भने वैशाख ५ गते हुनेछ । आज आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा समेत हुँदैछ । पूर्व निर्धारित तालिका नुसार उदघाटन अघि नै ५ खेल हुन लागेको हो ।

आज दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् ।

उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटन पूर्व सकिने छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

समापन वैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । बाँकेमा सबैभन्दा धेरै १८ खेल हुनेछन्। यस्तै, दाङमा आठ, बर्दियामा पाँच, रुपन्देहीमा चार र कपिलवस्तुमा एक खेल सञ्चालन हुनेछन्। सात प्रदेश, तीन विभागीय टोली र पहिलो पटक सहभागी गराइएको गैरआवासीय नेपाली संघ गरी ११ टोलीबीच प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी कुल पाँच हजार २११ खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई १५ हजार र सामुहिक स्पर्धातर्फ सात हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १२:१८