प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धीे अन्तरराष्ट्रिय सम्मेलन हुँदै, दुई सय विज्ञको सहभागिता

काठमाडौं : “रोजगारी, आम्दानी तथा कामको गुणस्तरका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम” भन्ने मूल नाराका साथ शिक्षा तथा तालीमसम्बन्धी दुईदिने अन्तरराष्ट्रिय सम्मेलन धुलिखेलमा आयोजना हुनेभएको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र स्वीस सङ्घीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा यही भदै २५ र २६ गते आयोजना हुने सो अन्तरराष्ट्रिय सम्मेलनमा विश्वका छ वटै महादेशका २०० भन्दा बढी विज्ञ, प्राज्ञिक वर्ग, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन हुने सो सम्मेलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटि० अन्र्तगतको सक्षमता कार्यक्रम र नेपाल उद्योग बाणिज्य महासङ्घको पनि सहयोग रहनेछ ।

“शिक्षा र तालीमका माध्यमबाट रोजगारीको अवसरमा अभिवृद्धि हुने र जनताको जीवनस्तर सुध्रने मान्यता रहेपनि रोजगारी बजार अनुकूलका सीप र शिक्षाबीच सामन्जस्यता हुन नसक्दा विश्वका अनगिन्ती युवाहरूले बेरोजगारीको मार खेप्नु परिरहेको छ”, काठमाडाँै विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डीन डा लक्ष्मण ज्ञवाली भन्नुभयो, “सीपयुक्त जनशक्तिको उच्च माग हुँदाहुँदै पनि रोजगारदाताको अपेक्षा सम्बोधन हुन सकिरहेको छैन । फलस्वरूप कामको खोजीमा रहेकाहरू र श्रमबजारको मागका बीचमा खाडल बढ्दो छ । यसले गर्दा नीति निर्माताहरू, योजनाकारहरू तथा शोधकर्ताहरूका सामु चुनौतीहरू थपिएका छन् ।”

उहाँले भन्नुभयो, “समुचित शिक्षा, तालीम तथा संस्कृति प्रवाहले मात्र यो खाडललाई कम गर्न सकिन्छ । विभिन्न देशमा सफल सावित भएका प्राविधिक शिक्षा र तालीमका अनुभवहरू मार्फत पनि केही हदसम्म यस किसिमको खाडललाई कम गर्न सकिन्छ । तर यति हुँदाहुँदै पनि संसारका कैयन मुलुकहरू खासगरी विकासशील मुलुकहरूमा प्राविधिक शिक्षा र व्यावसायिक तालीमको क्षेत्रले त्यति प्रभावकारी ढङ्गले काम गर्न सकिरहेको अवस्था छैन ।”

यसै परिपेक्ष्यमा युवा रोजगारी, आम्दानी तथा कामको गुणस्तरका लागि प्राविधिक व्यावसायिक शिक्षा र तालीमको योगदान सम्बन्धमा जानकार हुन, यस क्षेत्रको ज्ञान सिर्जनामा योगदान पु¥याउन, यसका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूमा नवीनतम अभ्यास तथा अवधारणाका बारेमा विमर्श गर्न, युवा रोजगारीका क्षेत्रमा विद्यमान चुनौती र अवसरबारे प्रकाश पार्न र प्राविधिक व्यावसायिक शिक्षा र तालीमका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय फोरम प्रदान गर्ने लगायतका उद्देश्य राखेर यो सम्मलेन आयोजना गरिएको काठमाडाँै विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा डा महेशनाथ पराजुलीले जानकारी गराउनुभयो ।

सम्मेलनमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम अन्तर्गतका नीति निर्माण, योजना तर्जुमा तथा अभ्यास, संस्था तथा प्रणाली, सुशासन तथा अख्तियारी विभाजन, लागत÷लाभ विश्लेषण, वित्त र वित्तीय विभाजन, सिकाइ र शिक्षण, गुणस्तरीयता, समता र सान्दर्भिकता, राष्ट्रिय तया अन्तरराष्ट्रिय अवस्था अध्ययन, रोजगारी, शिक्षा र तालीम, व्यवसाय तथा व्यावसायिक क्षेत्रहरू, प्राविधिक व्यावसायिक शिक्षा तथा तालीम र विकास, प्राविधिक व्यावसायिक शिक्षा र तालीमको समाजशास्त्र र समावेशिता विषयमा चारवटा मुख्य कार्यपत्र, ८२ वटा कार्यपत्र र तीनवटा कार्यशालाहरू समेटिने छन् । रासस


प्रकाशित | २४ भाद्र २०७६, मंगलवार ११:००