यू-१९ एसिया कप: नेपाल र श्रीलंका भिड्दै

काठमाडौं: श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज शुक्रबार आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान १० :१५ मा सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । किनकि घरेलु मैदान र समर्थकको साथ पाउने श्रीलंका पनि सुखद सुरुवात गर्न चाहन्छ ।

यू(१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई हराएको इतिहास छ । सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणको १९ रनले हराएको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।

नेपालले श्रीलंकालाई भने हराउन सकेको छैन । तर, यस संस्करणको एसिया कपमा नेपाल श्रीलंकालाई शिकार बनाउन चाहन्छ । नेपाल चमत्कारी प्रदर्शनको योजनामा हुनेछ ।

राष्ट्रिय टोलीका मुख्य सदस्य रहेको रोहित कुमार पौडेलको कप्तानीमा नेपाल श्रीलंकाविरुद्ध मैदान उत्रने छ । सिनियर टोलीको अनुभवी रोहित यू-१९ टोलीबाट राष्ट्रका लागि योगदान दिन चाहन्छ । त्यसका लागि नेपाल सुखद नतिजाको खोजीमा हुनेछ ।


प्रकाशित | २० भाद्र २०७६, शुक्रबार ०९:१२