राजनीतिसँगै फस्टाउँदै कृषि व्यवसाय

सिन्धुली : फिक्कल गाँउपालिका– १ दमारका रामकुमार कार्र्की सिन्धुलीका एक कुशल राजनीतिकर्मी हुन् । ३० वर्षदेखि राजनीतिमा सक्रिय कार्की पार्टीको विभिन्न जिम्मेवारी पूरा गर्दै २०५४ सालमा गाँउ विकास समितिको अध्यक्षसमेत भए । तर अहिले भने उनको परिचय यत्तिमै सिमित छैन ।

विगत ५ वर्ष अघि उनले राजनीतिसँगै किवी खेती सुरु गरेपछि व्यवसायीको पनि पहिचान बनाएका छन् । किवीबाट उनको वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । प्राविधिकहरुले नै किवी खेतीका लागि उपयुक्त हावापानी रहेको बतापछि यहि व्यवसाय रोजेको उनले बताए । ‘अहिले म वर्षमा ४ देखि ५ लाखसम्म आम्दानी गर्छु’ उनले भने, ‘बजारको कुनै समस्या नै छैन ।’

किवीको माग बढेपछि गत वर्षदेखि भने उनले नर्सरी व्यवसाय पनि सुरु गरेका छन् । अहिले उनको नर्सरीमा ६ सय बोट किवीका विरुवा छन् । ‘गत वर्ष नर्सरीबाट १५ लाखको विरुवा विक्रि भयो’ उनले भने, ‘सिन्धुली र रामेछापका स्थानीय तहले नर्सरीबाटै बिरुवा उठाए ।’ किवी प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको छ ।

३० वर्षदेखि सक्रिय रुपमा राजनीतिक गर्दै आएका कार्की राजनीतिले मात्र जीविकोपार्जन गर्न नसकिने बताउँछन् । ‘राजनीतिलाई व्यवसाय बनाउन सकिदैन’ उनले भने, ‘बरु राजनीतिसँगै अरु नै व्यवसाय गर्न सकिन्छ । राजनीति मात्र सेवा हो ।’ राजनीतिसँगै आय–आर्जनको लागि विभिन्न खेती व्यवसाय गर्न आवश्यक रहेको उनको बुझाई छ ।

फिक्कल गाउँपालिका–५ का कञ्चन पहाडी सिद्धज्योती शिक्षा क्याम्पसका स्ववियू सचिव हुन् । १२ वर्षदेखि राजनीतिमा सक्रिय पहाडीले गत वर्षदेखि व्यवसायिक रुपमा गेलभेडा खेती सुरु गरेका छन् ।

१५ रोपनी जग्गामा टनेल बनाएर उनले आधुनिक प्रविधिको प्रयोग गरि मौसमी र बेमौसमी गोलभेडाको गर्दै आएका छन् । युवालाई आफ्नै ठाउँमा स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले गोलभेडा खेती सुरु गरेको उनले बताए । विदेश जानु हुँदैन, आफ्नै ठाँउमा व्यवसाय गर्नु पर्छ भनेर भाषण गर्नुभन्दा पनि काम नै गरेर देखाउदा अरुलाई पनि प्रोत्साहन मिल्ने उनको भनाई रहेको छ ।

कमलामाई नगरपालिका– ८ का चित्रनारायण श्रेष्ठ वि।सं। २०४७ सालदेखि नै राजनीतिमा सक्रिय छन् । उनले पनि १० वर्षदेखि आफ्नै ठाउँमा व्यवसायीक बाख्रा पालन र तरकारी खेती गर्दै आएका छन् ।

उनको खोरमा खपारी, जमुनापारी र बोयर जातको पाठापाठी, बाख्रा र खसी गरी ८५ वटा बाख्रा छन् । खसी बेचेर वार्षिक रुपमा उनले ३ देखि ४ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

५ कट्ठा जग्गामा तरकारी खेतिसमेत गर्दै आएका उनको बारीमा विभिन्न तरकारी पनि फलेका छन् । मौसमी र बेमौसी दुुवै खाले तरकारीबाट श्रेष्ठ महिनाको २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउँछन् । यो समाचार आजको कारोबार दैनीकमा छ ।


प्रकाशित | १८ भाद्र २०७६, बुधबार १२:०९