सिलगुढी–काठमाडौँ बस सेवा शुरु

काठमाडौं: पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौँबाट पश्चिम भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन गर्नुभएको थियो ।

सेवा उद्घाटनसँगै दैनिक वातानुकूलित ४४ सिटका बा ५ ख ७९४२ र बा ५ ख ७९४३ नम्बरका नेपाल भारतमैत्री बसले सेवा दिइरहेका नेपाल भारतमैत्री सङ्घ संयुक्त यातायात प्रालिका अध्यक्ष भरत तिम्सिनाले बताउनुभयो । उहाँले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले काठमाडौँदेखि सीधा सिलगुडीसम्मको बस सेवा शुरु गरेको बताउनुभयो ।

पर्यटकीय आकर्षणको केन्द्रबिन्दु रहेको काठमाडौँमा भूटान, बङ्गलादेश, भारतको सिक्किम, दार्जिलिङ, काम्लिपोङ, बर्मालगायतका पर्यटकलाई स्थलमार्गबाट नै ल्याउन सो बस सेवा प्रभावकारी हुने उहाँको भनाइ छ । काठमाडौँदेखि सिलगुडीसम्मको ६५० किमि लामो यात्रा गर्न बसलाई १८ घण्टा लाग्ने अध्यक्ष तिम्सिनाको भनाइ छ ।

उहाँका अनुसार हरेक दिन बसले अपराह्न ३ः०० बजे काठमाडौँ छोड्ने र काँकडभिट्टादेखि पानीट्याङ्की हुँदै भोलिपल्ट बिहान ९ः०० बजे सिलगुडी पुग्ने जनाइएको छ । बस भाडा रु दुई हजार नेपाली तोकिएको छ । नेपाल र भारतबीच बस सेवाका लागि विभिन्न १२ रुट स्वीकृत गरिएका छन् । जसमध्ये काठमाडौँदेखि सिलगुडी एघारौँ रुट भएको उहाँले बताउनुभयो । तत्काल काठमाडौँबाट दुई र सिलगुढीबाट दुई गरी चार बस सञ्चालनमा ल्याउने भारत सरकारसँगको सहमति भए पनि भारतले आगामी १५ दिनभित्रमा मात्र सेवा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष तिम्सिनाको भनाइ छ ।

ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुन कार्कीले काठमाडौँ–सिलगुडी बस सेवाले कसैलाई नोक्सान नपु¥याउने र राष्ट्रलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नजिकिरहेको पर्यटन वर्ष २०२० लाई सफल पार्न सरकारको यो पवित्र निर्णयलाई स्वागत गर्दै सबैको सहयोग आवश्यक छ ।” सो बस सञ्चालनबारे काँकडभिट्टाका यातायात व्यवसायी, नागरिक समाजका अगुवा भने विरोधमा उत्रिएका छन् ।

स्थानीय सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरेले सिधा बस सेवा सञ्चालनले काँकडभिट्टाको व्यवसाय धरापमा पर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन व्यवसायी सङ्घका सल्लाहकार गोपाल शिवाकाटीले तत्काल दुई बस सञ्चालनमा आउँदा समस्या नभए पनि भविष्यमा भारतका हरेक शहरबाट नेपालका विभिन्न स्थानमा पु¥याउने सेवाले पूर्वी नाका काँकडभिट्टाको चहलपहल हराउनेमा चिन्ता व्यक्त गर्नुभयो ।


प्रकाशित | १३ भाद्र २०७६, शुक्रबार १२:५३