नागरिकता सम्बन्धी सर्वोच्च अदालतले दिएको फैसलाप्रति राजपाको आपत्ति

काठमाडौं : बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति राष्ट्रिय जनता पार्टी नेपालले आपत्ति जनाएको छ । राजपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले दुखी बनाएको बताएको छ ।

राजपाको अध्यक्ष मण्डलको बैठकले लाखौँ नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पुर्याउने गरी सर्वोच्चको आदेश आएको भन्दै दुःख व्यक्त गरेको छ । गृह मन्त्रालयले १९ चैतमा ‘जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई बंशजका आधारमा नागरिकता दिने सम्बन्धमा’ सातै प्रदेशमा परिपत्र जारी गरेको थियो ।

यसअघि सर्वोच्चकै निर्णयअनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेर वंशजको नागरिकता दिन भनेको थियो । गृहको परिपत्रसँगै धमाधम जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन थालेका थिए ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १९:१७