सूर्यविनायक नगरपालिकाद्वारा ६० हजार फूलको बेर्ना वितरण

भक्तपुर : सूर्यविनायक नगरपालिकाले स्थानीय किसानलाई ६० हजार सयपत्री फूलको बेर्ना उत्पादन गरी वितरण गरेको छ । नगरक्षेत्रमा व्यावसायिक पुष्पखेती प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको चार लाख रूपियाँ अनुदानबाट गुण्डू साना किसान सहकारी संस्थाले उत्पादन गरेको फूलको बेर्ना मंगलवार स्थानीय किसानलाई वितरण गरिएको हो ।

व्यवसायिक पुष्प खेती प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले फुलको बेर्ना उत्पादन गरी वितरण गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले बताउनुभयो । उक्त ६० हजार फुलका बेर्नामा गुण्डूका स्थनीय साना किसानलाई ५० हजार बेर्ना र १० हजार अन्य स्थानका किसानलाई वितरण गरिएको हो । बेर्ना वितरण गर्दै नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले यस वर्ष चार लाख रूपियाँ अनुदान दिएको र आगामी वर्ष यसलाई बढाएर आठ लाख पु¥याउने घोषणा गर्नुभयो ।

गत वर्ष पनि नगरपालिकाले व्यावसायिक किसानलाई फूलको बेर्ना उत्पादन गरी वितरण गरिएको र स्थानीय किसानले प्रति फूलको बोटबाट एक हजार रूपियाँसम्म फाइदा लिएका थिए ।

सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले किसानले उत्पादन गरेको फूल सिधै उपभोक्ताको हातमा पुग्ने गरी बजारको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले विकास निर्माणसँगै किसानको आर्थिक रूपान्तरणका लागि फूलको बेर्ना उत्पादन गरी वितरण गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

जेठमा रोपेको फूलको बेर्ना तीन महिनाभित्र फूल्नेछ । गत वर्ष प्रतिबोट कम्तिमा एक हजार रूपियाँसम्म आम्दानी भएको यस वर्ष पनि सोही अनुसारको आम्दानी हुने स्थानीय किसानको अपेक्षा छ । फूल वितरण कार्यक्रमममा कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष सनिज लागेजु, राष्ट्रिय कृषक महासंघ भक्तपुरका अध्यक्ष टेकबहादुर लागेजुले, राष्ट्रिय किसान महासंघका केन्द्रीय सदस्य अनिता बस्नेतले किसानले उत्पादन गरेको फूलको उचित मूल्य पाउनुपर्ने बताउनुभयो ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार २१:३३