अख्तियारलाई राजनीतिक दलका नेतासँग बयान लिन सकस, नेताबाहेकलाई मुद्दा दर्ता

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ललिता निवास जग्गा प्रकरणमा मुछिएका राजनीतिक दलका नेतासँग बयान लिन सकस भएको छ । ललिता निवास जग्गालाई व्यक्तिका नाममा दर्ता गराउनका लागि दुईवटा सरकारले गरेको निर्णयलाई कूटनीतिक तवरमा हल गर्ने र अन्य जग्गा किनबेचमा संलग्नलाई विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले हाल ललिता निवास जग्गा किनबेचमा संलग्नहरूलाई अनुसन्धान प्रक्रियामा राखेको छ । जग्गा किनबेच गर्नेको सूची लामो भएकाले अझै केही समय अनुसन्धान प्रक्रियामा अख्तियार रहेको प्रवक्ता प्रदीप कोइरालाले बताए । अनुसन्धान प्रक्रिया के भइरहेछ भन्ने विषयमा भने अहिले केही भन्न नमिल्ने प्रवक्ता कोइरालाले बताए ।

ललिता निवास प्रकरणमा मुछिएका नेताहरूको हकमा बयान लिने कि नलिने भन्ने विषयमा अख्तियार प्रमुख नै सकसमा परेको स्रोतले जनायो । सरकारी जग्गा व्यक्तिको नाममा बनाउनेमा मुख्य दोषी कसलाई किटान गर्ने भन्ने विषयमा अख्तियारमा छलफल भइरहेको स्रोतले जनायो । राजनीतिक दलका नेताहरू समेत यो प्रकरणमा जोडिएकाले मुद्दा दर्ता प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अख्तियारले पटकपटक आन्तरिक छलफल गरिरहेको स्रोतले जनायो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


प्रकाशित | १२ भाद्र २०७६, बिहीबार ०८:०२