काष्ठमण्डप निर्माण बारे प्रधानमन्त्री ओलीको हस्तलिखित शुभकामना

काठमाडौँ : महाविनाशकारी भूकम्प आएको चार वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीले वसन्तपुरस्थित हनुमानढोका परिसर, त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिरलगायतका सम्पदाहरुको अवलोकन गर्नुभयो ।

अवलोकनसँगै पुनर्निमाणको काम चाँडो सक्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ । सम्पदा पुनर्निर्माणमा एउटा सानो टुक्रा पनि खेर नफाली काम भएको बताउँदै ओलीले भन्नुभयो, ‘यसरी सानो टुक्रा पनि खेर नफाली पुनर्निर्माणमा खटिने सबैलाई धन्यवाद भन्न चाहान्छु ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीले देशलाई हृदयको गहिराइदेखि नै माया गर्ने पनि बताउनुभयो ।

उहाँले नेपालीहरुले हृदयको गहिराइदेखि देशलाई माया गर्छन् भन्ने कुरा पुनर्निमाणको कामबाट प्रमाणित भएको उल्लेख गर्नुभयो । ‘पहिले–पहिले नेपालीको विरताको गुणगान मात्रै हुने गरे पनि अब नेपालीको विद्वताको पनि गुणगान हुनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो । त्यस्तै प्रधानमन्त्री ओलीले काष्ठमण्डप निर्माण बारे हस्तलिखित शुभकामना दिनुभएको छ ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १५:४०