बजेटको पूर्व सन्ध्यामा कागेश्वरीमा सहकारी सञ्चालकसँग छलफल, उद्यमशीलताको क्षेत्रमा लगानी गर्न मेयर कार्कीको जोड

नगरपालिकाभरि ७१ सहकारी सञ्चालीत

नगरपालिकाभित्र अहिले १ अर्ब ५३ करोड वराबर सहकारीको कारोबार

प्रत्येक सहकारीले न्यूनतम ३ देखि ५ प्रतिशतको रकम उद्यमशीलताको क्षेत्रमा खर्च गर्नुपर्ने

सहकारी क्षेत्रको अनुगमनका लागि संंयन्त्र बनाई अनुगमनलाई कडाई गरिने र कार्याविधी अनुसार अगाडि बढ्ने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक बजेटको पूर्व सन्ध्यामा नगरभित्र सञ्चालीत सहकारी संस्थाका सञ्चालकहरुसँग अन्तरक्रिर्या गरेको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेटमा सहकारीका के कस्ता विषय समावेश गर्ने भनेर सल्लाह, सुझाव संकलन गर्ने उद्देश्यका साथ अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागिहरुले नगरपालिकाले पहिलो पटक बजेटको पूर्व सन्ध्यामा छलफल प्रारम्भ गरेकोमा खुसी ब्यक्त गर्दै सहकारीको वर्तमान अवस्था, समस्या र आगामी नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरु बारेमा धारणा राख्नु भएको थियो ।

नगरपालिकाले स्टेक होल्डरहरुसँग प्रत्यक्ष छलफल गर्नु स्वागतयोग्य कदम भएको भन्दै नगरभित्रका सहकारीमा ब्याजदर निर्धारण गर्न, विशेष खालको क्षमता अभिबृद्धि हुने खालका तालिम सञ्चालन गर्न, कर्जा सूचना केन्द्र स्थापना गरेर सहकारीका गलत तत्वको पहिचान गर्न, संख्यात्मक भन्दा गुणत्मक सहकारीमा जोड दिदै सहकारी मर्जरको योजना ल्याउन, सहकारी मापदण्ड पालना नगर्नेलाई निगरानी गरि कारवाही प्रक्रिया अगाडि बढाउन र राम्रालाई प्रोत्साहन गर्ने नीति ल्याउन लगायतका सुझाव राखेका थिए । कार्यक्रममा नगरपालिकाभरि रहेका ७१ सहकारीका सञ्चालक र ब्यवस्थापकको सहभागिता थियो ।

कार्यक्रममा सहभागि सहकारी सञ्चाकहरुले आफना धारणा राखेपश्चात सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कार्कीले सहकारी संस्थाहरु मूल मर्म र भावनाअनुसार चल्नुपर्ने र त्यसको अभिभावकीय भूमीका निर्वाह गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

उहाँले अनुगमन र नियमन गर्न विज्ञता तथा सहकारी संघसंस्थाका प्रतिनिधिलाई समेटेर संंयन्त्र बनाई कार्याविधी अनुसार अगाडि बढ्ने योजना रहेको जानकारी गराउनुभयो ।

सहकारीहरु रुपान्तरण हुन आवश्यक रहेकोमा जोड दिनुहुँदै मेयर कार्कीले हरेक सहकारीहरुले उद्यमशीलताको क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

एक सहकारी न्यूनतम एक उद्यमशीलताको नीति ल्याउन लागिरहेको बताउनुहुँदै प्रमुख कार्कीले दिगो ढंगले अगाडि बढाउन सहकारी संस्थाहरुले नगरपालिकाले पहिचान गरेका नयाँ क्षेत्रमा बचतको न्यूनतम ५ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाभित्र अहिले १ अर्ब ५३ करोड वराबर सहकारीको कारोबार भइरहेको भन्दै हरेक सहकारीले न्यूनतम ३ देखि ५ प्रतिशतको रकम उद्यमशीलताको क्षेत्रमा खर्च गर्नुपर्ने उहाँको जोड छ । शेयरधनी सदस्यहरुलाई गरिखाने वातावरण सिर्जना गर्न सक्नुपर्ने र नगरपालिका उद्यमशीलता तथा क्षमता विकासको लागि तालिम दिन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख शान्ता थापाले नगरपालिका सहकारी संस्थाहरुसँग मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले नीति नियम र मापदण्ड अनुसार नचल्ने सहकारी संस्थालाई कारवाही र राम्रालाई प्रोत्साहन गर्ने गरि अगाडि बढ्ने बताउनुभयो ।

वडा नंं १ का वडाध्यक्ष मुकुन्द गजुरेलले गलत काम गर्ने कुनै पनि सहकारी संस्थालाई नगरपालिकाले नछाड्ने भन्दै सर्तक भएर काम गर्न आग्रह गर्नुभयो । नगरपालिकामा अहिलेसम्म ठगी गर्ने सहकारी संस्था नदेखिए पनि भित्रभित्रै दर्ता नै नगरि लुकीछिपी कारोबार गर्ने सहकारीले बदनाम गर्नेतर्फ पनि सजग रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नगरपालिकाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम सहकारी शाखा प्रमुख अनीता तामाङले सञ्चालन गर्नु भएको थियो । शाखा प्रमुख तामाङका अनुसार नगरपालिकाभित्र प्रदेश र संघसहित ७२ वटा सहकारी संस्था सञ्चालीत छन् जसमध्ये नगरपालिकामा ५१ वटा दर्ता छन् ।


प्रकाशित | ४ असार २०८०, सोमबार २३:३१