एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारीको आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने तयारी

सिड्नी : गैर आवासीय नेपाल संघ (एनआरएनए) ओसेनिया संयोजक धर्मराज अधिकारीले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको विश्व सम्मेलनमा संयोजक अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नुभएको हो । संघको नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंको हायात होटलमा हुँदैछ ।

एनआरएनए ओसेनियाका वर्तमान क्षेत्रीय संयोजक अधिकारी तीन दशकदेखि अस्ट्रेलियामा व्यवसायिक जीवन र सामुदायिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । विशेष गरि अस्ट्रेलियामा विश्वभरीका एनआरएनको सहभागीतामा एनआरएनको ओसेनिया क्षेत्रीय बैठक सम्पन्न गर्दै कार्यसम्पादनमा सबैको प्रशंसा पाउनुभएको अधिकारीले आगामी निर्वाचनमा उपाध्यक्षमा जाने इच्छा जाहेर गर्नुभएको हो । अस्ट्रेलियामा क्षेत्रीय बैठक सम्पन्न गरेसँगै एसिया प्याशिफिकको म्यानमार हुँदै यूरोपको क्षेत्रीय बैठकमा इटाली सम्म पुग्दै उपाध्यक्षको उम्मेदवारीको तयारी थाल्नुभएको हो । त्यस्तै, उपाध्यक्षमा जाने तयारी गरेसँगै मध्यपूर्व र एसिया प्याशिफिकसम्म जाने तयारीमा रहेको अधिकारीले बताउनुभयो ।

अधिकारीले उपाध्यक्षमा बसेर काम गर्ने अवसर र मौका पाएमा गैर आवासीय नेपालीको प्रमुख एजेन्डाको रुपमा रहेको ‘नेपाली नागरिकताको निरन्तरता’ कार्यान्वयनमा जोडतोडले पहल गर्ने बताउनुभएको छ । साथै एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्किल, नलेज एन्ड इनोभसनसहित नेपाल सरकारले घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको बताउनुभयो ।

अधिकारीले भन्नुभएको छ, ‘कुनै योजना बिना अघ बढ्ने व्यक्ति म होइन, अहिलेसम्म मैले जे जति गरेको छु, सबै साथीभाइलाई समेटेर सबैको सहकार्यमा अघि बढ्ने मेरो पहिलो प्राथमिकता हुनेछ । एकतामा नै बल हुन्छ, त्यसले नै एनआरएन अभयानलाई अघि लैजान्छ भन्ने कुरामा म ढुक्क छु । यसले म लहडमा उम्मेदवार बनेको नभई एनआरएनको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न अघि बढेको विश्वास दिलाउन चाहन्छु ।’

‘मातृभूमिको सेवाबाट मात्र हामो मनमा पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकाण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सिप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं ।’ ‘हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं, ताकि नेपालले सम्वृद्धिको यात्रालाई अझ मजबुत बनाउन सकोस् । हामी विदेशी मित्रहरुलाई नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखाउन चाहन्छौं, शान्तिदूत बुद्धभूमिमा लैजान चाहन्छौं’, उपाध्यक्षका प्रत्यासी अधिकारीले उपाध्यक्षमा जाने तयारी गरेसँँगै जारी गर्नुभएको एक बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।


प्रकाशित | ९ भाद्र २०७६, सोमबार १५:५५