बालबालिकाको लागि आवश्यक पर्ने सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं– बालबालिकालाई फाइजर खोप लगाउन आश्यक पर्ने सिरिन्ज ६ लाख ६४ हजार ५६० मात्रा नेपाल आइपुगेको छ।

कोभ्याक्स मार्फत शुन्य दशमलब ३ एमएलको ६ लाख ६४ हजार ५६० सिरिन्ज मंगलबार दिउसो नेपाल आएको हो। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।

खोपका लागि आवश्यक पर्ने घोलक भने गत साता नै नेपाल आइपुगेको थियो। घोलक भनेको फाइजर खोपलाई पातलो बनाउने सोडियम क्लोराइड मिश्रित तरल पदार्थ हो। फाइजर खोपका लागि प्रतिभाइल १।८ मिलिलिटर ०।९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ।

यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्छ। गत मंगलबारदेखि काठमाडौंसहित ८ जिल्लामा फाइजर खोप लगाउने कार्यतालिका बनाइएको थियो। तर सिरिन्ज नहुँदा कार्यक्रम स्थगन भएको थियो।

कोभ्याक्स मार्फत गत शुक्रबार नेपालमा ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आएको थियो। त्यतिबेला नै घोलक र सिरिन्ज नआएका कारण कार्यक्रम केही दिन ढिला हुन पुगेको हो। सिरिन्ज आएपछि बालबालिकाका लागि खोप अभियान पुन सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 


प्रकाशित | २१ पुष २०७८, बुधबार १३:०३