नक्कली छाप तथा कागजात कीर्ते गर्ने पक्राउ

काठमाडौं: प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय विनोद बरूवाल र नागार्जुन नगरपालिका–५ बस्ने रेनु लामा रहेको प्रहरीले जनाएको छ ।

विगत केही समयदेखि काठमाडौँ उपत्यकाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा छापको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विद्यार्थीको नामसहित विवरण भएको रजिष्ट्रार, विभिन्न कार्यालयको रबर छाप ३९ थान, पेनड्राइभ ११ थान र विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको जनाइएको छ ।


प्रकाशित | ३ भाद्र २०७६, मंगलवार १९:५५