लेखक बन्न अरूका पुस्तक पढ्नुपर्छ : शान्ता चौधरी

हामी नेपालीको अलि अल्छी गर्ने बानी छ । कम पढ्छौँ । पुस्तकमा खर्च गर्दैनौँ । त्यो बानी सुधार गर्न जरुरी छ । किताबले हामीलाई बुझाउने, सिकाउने र जानकारी दिने गर्छ । किताबले राजनीति, समाज, संस्कृति, सम्बन्धजस्ता विषयमा अपडेट गर्छ । सबै किसिमको किताब पढेर ज्ञान लिनुपर्छ । किताबले केही न केही ज्ञान दिन्छ । म समय मिलेसम्म सबै किसिमका किताब पढ्छु । राजनीतिक, सामाजिक, ऐतिहासिक र कानुनसम्बन्धी पुस्तक बढी पढ्छु । अहिले त कानुन बनाउने, नीति निर्माण गर्ने ठाउँमा छु । त्यसले गर्दा नपढी हुँदै हुँदैन ।

देशको मात्रै नभएर विदेशका पनि सम्बन्धित किताब पढ्नुपर्छ । पढिरहेकी छु । त्यसले कानुन निर्माण, संशोधन गर्न सहयोग पुग्छ । त्यसमाथि म विद्यार्थी पनि हुँ । पाठ्यपुस्तक पनि पढ्नैपर्छ । लेखक पनि हुँ । लेखक हुनका लागि पनि धेरै अध्ययन गर्नु जरुरी छ । ‘कमलरीदेखि सभासद्’सम्म किताब लेख्नका लागि धेरै अध्ययन गरेँ । बजारमा आएका नयाँ किताब सबै पढूँ जस्तो लाग्छ । तर, सबै पढ्न सम्भव हुन्न । सकेसम्म धेरै पढ्छु । सबै किताबको आ–आफ्नै महत्व हुन्छ । सबै खालको किताबले कुनै न कुनै रूपमा प्रभाव पारिरहेको हुन्छ । अहिले तत्काल सम्झना भएअनुसार मेरो जीवनमा प्रभाव पार्ने किताब केही छन् ।

जीवन काँडा कि फूल

मेरो जीवनमा सकारात्मक प्रभाव पारेको किताबमध्ये एक झमक घिमिरेजीको जीवन काँडा कि फूल हो । यो किताब पढिसकेपछि धेरै समयसम्म छोइरह्यो । यो किताबले मलाई पनि किताब लेख्नुपर्छ भन्ने प्रेरणा दियो । मैले कमलरीदेखि सभासद्सम्म किताब लेख्नका लागि यो किताबले धेरै हदसम्म प्रेरणा दिएको छ । यो किताबको छाप मेरो मनमा गहिरोसँग गढेर बसेको छ ।

प्रयोगशाला

प्रयोगशाला किताब पढेपछि धेरै राजनीतिक जानकारी पाएकी थिएँ । पत्रकार सुधीर शर्माजीले लेख्नुभएको यो किताबमा नेपालको राजनीतिमा बाह्य प्रभाव र परीक्षणसम्बन्धी विश्लेषण गरिएको छ । जसले मलाई व्यक्तिगत रूपमा चेत बढाउन र अपडेट हुन धेरै सहयोग पुगेको छ ।

सेतो धरती

सेतो धरतीमा हाम्रो समाजको रूढिगत संस्कृतिका कारण बालविधवाले भोग्नुपरेको जीवनबारे सरल तरिकाले लेखिएको छ । मार्मिक एवं प्रेरणादायी लेखनशैली भएको यो किताब मलाई एकदम मन परेकोमध्ये हो । किताब भनेको हाम्रो अवस्था, यथार्थता देखाउने ऐना पनि हो ।

नयाँ पत्रीका दैनीक


प्रकाशित | १८ श्रावण २०७६, शनिबार ०९:४३