परिषद् नगर्ने पालिकाको बजेट रोक्ने मन्त्री पण्डितको चेतावनी

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गाउँ परिषद् नगर्ने पालिकाको बजेट रोकिने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीद्वारा आज पोखरामा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयक अन्तक्र्रियामा उहाँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै जनस्तरबाट उठेका विषयलाई गाउँ परिषद्मार्पmत अनुमोदन हुनुपर्ने बताउनुभयो ।

आर्थिक अनियमितताका विभिन्न कुराहरु ठाउँ–ठाउँमा उठ्ने गरेको बताउँदै उहाँले पालिकामा गर्ने तथा गरिने खर्चहरु परिषद्मार्पmत पारदर्शीरूपमा आउनुपर्नेमा जोड दिनुभयो । परिवर्तित संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिँदै मन्त्री पण्डितले सङ्घीयताको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले कानूनसम्मतरूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनअपेक्षाअनुरुप काम गर्न नसके जनतामा निरासा आउनेतर्पm गम्भीर हुन आग्रह गर्नुभयो । ज्येष्ठताको आधारमा नभई उनीहरुको योग्यता र क्षमताका आधारमा मूल्याङ्कन गरिने बताउँदै उहाँले विभिन्न टे«ड युनियनका नाममा नेतागिरी गर्ने तर जनताका कामप्रति उत्तरदायी नहुने प्रवृत्तिलाई निरुत्साहित गरिने बताउनुभयो ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीले भन्सारमा आधारित नेपालको अर्थतन्त्रको अन्त्य गर्नका लागि प्रदेश र स्थानीय सरकारले उत्पादनमा जोड दिनुपर्ने बताउँदै जनताले तिरेको करको सही सदुपयोग हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै यस्ता छलफलले सङ्घीयताको कार्यान्वयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य कृष्ण थापाले संविधानले तीन वटै सरकारको समन्वय, सहकार्य र सहअस्तित्वको आधार तय गरेको उल्लेख गर्दै अधिकारका बारेमा जनप्रतिधि जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले कर्मचारीमा अहिले पनि सङ्घीयताको मानसिकतामा परिवर्तन आउन नसकेको कारण जनप्रतिनिधिलाई काम गर्न अप्ठेरो परेको धारणा राख्नुभयो । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ र माछापुच्छ्रे गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले पालिकामा प्राविधिक कर्मचारीको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्री भण्डारीलगायतले सुखी नेपाली, समृद्ध नेपाल अभियानमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो ।


प्रकाशित | १ भाद्र २०७६, आईतवार १२:०३