सूर्यविनायक नगर सभाको १६ औं अधिवेशन शूरु, नगर प्रमुख थापाद्धारा नीति तथा कार्यक्रम प्रस्तुत, नगर गान सर्वसम्मत पारित (तस्विरहरु)

भक्तपुर: सूर्यविनायक नगरसभाको १६ औं अधिवेशन शुक्रबारबाट शूरु भएको छ । अधिवेशनको पहिलो बैठकले सूर्यविनायक नगरपालिकाको प्रतीक चिन्ह लोगो र नगर गान सर्वसम्मत पारित गरिएको छ ।

बैठकमा नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१ /०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रमुख थापाले २ सय २२ बुँदा समेटिएको नीति तथा कार्यक्रम प्रस्ततु गर्नु भएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख थापाले नगरभित्रको बढ्दो बेरोजगारी दर कम गर्न स्वदेशमै रोजागरी सृजना गरी युवा वर्गमा देखिएको नैराश्यता अन्त्य गर्न दक्ष जनशक्ति उत्पादन गर्ने अभिप्रायले नगर क्षेत्रमा मागका आधारित सीपमूलक, रोजगारमूलक र आयमूलक तालिमहरु संचालन गर्नका लागि वडा नंं ७ को घ्याम्पेडाँडामा नगर प्रशिक्षण केन्द्रको स्थापना गरी नवप्रवर्तनका कार्यको शुभारम्भ गर्ने घोषण गर्नुभयो ।

साथै नगर क्षेत्रका कम्तिमा २५ जना नागरिकलाई रोजगारी उपलब्ध गराउन उद्यम, ब्यवसायको ब्यवसाय नवीकरण शुल्कमा छुट सहुलियत प्रदान गर्ने नीीत अवलम्वन गरिएको पनि नगर प्रमुख थापाले बताउनुभयो ।

नीति तथा कार्यक्रममा अनिवार्य आधारभूत, निशुल्क र जीवनोपयोगी माध्यमिक शिक्षाः सामाजिक पूँजीको विकास र विस्तार गर्ने सूर्यविनायकको इच्छा भन्ने नारालाई सार्थकता प्रदान गर्न सामुदायिक शिक्षाको गुणस्तर प्रबद्र्धनको महाअभियान संचालन गरिने उल्लेख छ । अनिवार्य स्वास्थ्य बीमा कार्यक्रम संचालन गरी नगरबासीलाई स्वास्थ्य बीमामा पुहँचको लागि नागरपालिकाको तर्फबाट बीमा गर्न बीमा सहयोग कोषको स्थापना गरिने नीति पनि लिइएको छ ।

त्यस्तै, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा सबै नागरिकको सरल र सहज पहुँच सुनीश्चित गर्न मेयरसँग नागरिक स्वास्थ्य कार्यक्रम मार्फत प्रत्येक वडामा मासिक रुपमा १ जना चिकित्सक सहित मोबाइल क्लिनिक उपलब्ध गराई टेलिमेडिसिनलाई प्रोत्साहन गरिने भएको छ । साथै बहिरंग ओपिडी सेवाको विस्तार गरिने र नगर अस्पतालमा सघन प्रसुति सेवाको विस्तार गर्ने नीति लिइएको छ ।

खानेपानीको सहज र सरल पहुँच सुनिश्चित गर्न एक घर एक धारा अभियानको सफलताका लागि विद्यमान पानीका स्रोतहरुको नक्सांकन गरी अधिकतम उपयोगको नीति अवलम्बन गरिने भएको छ । नगरपालिकामा शूरु गरिएको घर लम्बरिगं गर्ने कार्यलाई थप ब्यवस्थित गरी सबैमा वडाहरुमा विस्तार गर्ने नीति समेत लिइएको छ ।

अधिवेशनमा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सदस्य सचिव तारानाथ लुइँटेल, विषयगत समितिका संयोजकहरु सानुकाजी कायस्थ, रविन्द्र सापकोटा, प्रदीप कार्कीले विभिन्न प्रस्तावहरु पेश गर्नु भएको थियो ।

नगर अधिवेशनको अर्को बैठक आगामी सोमबार बोलाइएको छ । सो बैठकमा आगामी आर्थिक वर्षको बजेत सार्वजनीक गरिनेछ भने छलफल पश्चात नीति तथा कार्यक्रम र बजेट समेत पारित गरिनेछ ।

 

 


प्रकाशित | ८ असार २०८१, शुक्रबार २१:१८