एजेन्सी : इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति विभिन्न सात खेलहरु हुँदैछ । लिगमा शनिबार साविकको विजेता म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, टोटेनहम लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार हुने पहिलो खेलमा आर्सनलले घरेलु मैदानमा बर्नलीको सामना गर्दैछ । आर्सनल र बर्नलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।
दुवै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् । सिजनको पहिलो खेलमा दुवै टिमले जित निकालेका थिए । आर्सनलले न्युकसल युनाईटेडलाई १-० ले हराएको थियो भने बर्नलीले साउथह्याम्पटनको चुनौती पन्छाएको थियो ।
यस्तै लिभरपुलले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । लिभरपुल र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ ।
साउथह्याम्पटनविरुद्ध मैदान उत्रदा लिभरपुल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लिभरपुलले नर्विच सिटीलाई ४-१ ले हराएको थियो ।
तर, साउथह्याम्पटनविरुद्ध लिभरपुललाई गोलकिपरको अभाव रहनेछ । पहिलो रोजाईका एलिसन बेकर र एड्रियन पनि घाइते भएपछि लिभरपुल तेस्रो गोलकिपरको भरमा खेल्नेछ ।
यता, साउथह्याम्पटन भने पहिलो जितको खोजीमा रहनेछ । पहिलो खेलमा साउथह्याम्पटनले बर्नलीसँग ३-० ले हार व्यहोरेको थियो । त्यस्तै साविकको विजेता म्यानचेस्टर सिटीले अर्को उपाधि दाबेदार टिम टोटेनहमसँग खेल्दैछ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार रति १०:१५ मा सुरु हुनेछ ।
सिटी र टोटेनहम दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा सिटीले वेष्ट ह्यामलाई ५-० ले हराएको थियो । टोटेनहमले पहिलो खेलमा एस्टन भिल्लालाई ३-१ ले हराएको थियो । प्रिमियर लिग अन्तर्गत नै शनिबार एभर्टनले वाट्फोर्ड, एस्टन भिल्लाले बर्नेमाउथ, ब्राइटनले वेष्ट ह्याम र नर्विचले न्युकासलसँग खेल्नेछ ।
प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १३:१४