एनआरएनए यूके निर्वाचन : तीन अध्यक्ष प्रत्यासीले जनाए शेर सुनारलाई समर्थन

लन्डन : विश्वको सबैभन्दा बढी पञ्जीकृत सदस्य बन्न सफल गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेमा निर्वाचन माहौल निकै तातेको छ । आगामी १४ सेप्टेम्वरमा निर्वाचन मिति तय भएसँगै नेतृत्वको दावेदारी प्रस्तुत गर्दै पाँच जनाले एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । यसअघि सार्वजनीक रुपमा नै औपचारिक कार्यक्रम गरि उम्मेदवारी घोषणा गर्नुभएको पाँच मध्ये तीन अध्यक्षका प्रत्यासीले अर्को अध्यक्षका उम्मेदवार शेर बहादुर सुनारलाई समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिनुभएको छ ।

सुनारलाई अध्यक्षका प्रत्यासी प्रेम गाहामगर, ललित न्यौपाने र सुशिला राईले समर्थन जनाउँदै आफनो यसअघिको उम्मेदवारी फीर्ता लिने घोषणा गर्नुभएको हो । उनीहरुले मंगलवार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अध्यक्षका प्रत्यासी ललित न्यौपानेले एनआरएनए यूकेलाई साँघुरो घेरामा सिमित राख्न नहुने भन्दै सुनार सबैभन्दा पुरानो, अनुभवी र योग्य तथा सक्षम उम्मेदवार भएको कारण समर्थन जनाएको बताउनुभयो । सुनारलाई समर्थन जनाउँदै आगामी निर्वाचनमा आइसिसी सदस्यमा उम्मेदवारी घोषणा समेत न्यौपानेले गर्नुभयो । त्यस्तै अर्का प्रत्यासी शुसिला राईले पनि आफ्नो उम्मेदवारी फिर्ता लिदैं शेर सुनारलाई समर्थन जनाउनुभयो । राईले आगामी निर्वाचनमा आइसिसी सदस्यमा उम्मेदवारी दिने समेत घोषणा गर्नुभयो ।

अर्का प्रत्यासी प्रेम गाहामगरले एनआरएनए यूकेको इतीहासमा दलित जातिबाट एनआरएनको नेतृत्व भएमा पूर्ण समावेशी हुने भएका कारण शेर सुनारलाई अध्यक्षमा समर्थन गरेको बताउँदै आफनो उम्मेदवारी फीर्ता गर्नुभयो । उहाँले सुनारको छत्रयायाँमा रहने गरि पुनः उपाध्यक्षमा उठ्ने समेत घोषणा गर्नुभयो ।

अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले एनआरएनलाई सबैको साझा बनाउन आवश्यक रहेकोमा जोड दिर्दै आफूलाई समर्थन गर्ने अध्यक्षका प्रत्यासीलाई धन्यावाद दिनुभयो । सुनारले एनआरएन यूकेमा आफनो योगदान लामो समयदेखि भएको बताउादै यूकेबासीले योगदान गर्ने, अनुभवी र सक्षम नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । साथै उहाँले सहयोगको लागि सबैमा आग्रह समेत गर्नुभयो । सोही अवसरमा शसांक शर्मा, नारायण कंडेल, प्रवेश केसी, ओम थापा, एनआरएनएका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित लगायतले शुभकामना राख्नुभएको थियो ।

केहि दिन अघि मात्रै मिडल्याण्डवासी नेपालीहरुले पुनम गुरुङ समूहसँग सहकार्य गरेर अघि बढ्ने घोषणा गरेसँगै तीन अध्यक्षका प्रत्यासीको समर्थन सुनारलाई हुने भएपछि एनआरएनए यूकेमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एनआरएनए यूकेमा अब अर्का अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङ र सुनारपछि कडा प्रतिस्पर्धा हुने देखिएको हो ।


प्रकाशित | २९ श्रावण २०७६, बुधबार १२:१९