कोरियाली भाषा परीक्षामा ९२ हजार आवेदक

गोपाल संग्रौला/ काठमाडौंं

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ ।

ईपीएसको १२ वर्षे ईतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् । चैत ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका आईटी ईन्जिनियर राजु श्रेष्ठले बेलुका ८ बजेसम्म उत्पादनमूलक क्षेत्रमा ६३ हजार ३२५ र कृषि तथा पशुपालन क्षेत्रमा १८ हजार ८१९ ले परीक्षा आवेदन गरेको बताए । शाखाले यो वर्षको भाषा परीक्षामा ९० हजार परीक्षा आवेदक दिने अनुमान गरेपनि आवेदनको म्याद सकिनुभन्दा ४ घण्टा अघि अर्थात आइतबार ८ बजेसम्म ९२ हजारभन्दा बढी पुगेको छ । परीक्षार्थीको संख्या बढे पनि भाषा परीक्षा भने गत वर्षभन्दा व्यवस्थित तरिकाले गर्नेगरी योजना बनाइएको शाखाले जनाएको छ । यो वर्ष भाषा परीक्षाको ढाँचा परिवर्तन गरेर छनोटको पहिलो चरण परीक्षा र सीप परीक्षणलाई अन्तिम तथा निर्णायक बिन्दु बनाइएको छ ।

भाषा परीक्षामा सफल भएकाले मात्र सीप परीक्षणको मौका पाउने छन् भने सीप परीक्षण सफल भएकाले मात्र रोजगारीका लागि आवदन दिन सक्ने छन् । शाखाले यस वर्ष नक्कल गरेर अरुको नाममा परीक्षा नदिन परीक्षार्थीसँग अनुरोध गरेको छ । अर्काको नाममा परीक्षा दिने परीक्षार्थीले ३ वर्ष भाषा परीक्षामा सहभागी हुन पाउने छैनन् भने प्रचलित कानुनअनुसार कडा कारबाहीसमेत गरिने शाखाले जनाएको छ । जेठको २५ र २६ गते परीक्षा हुने छ भने असार १३ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरिने योजना रहेको छ । भाषा परीक्षामा १० हजार ५० भन्दा बढी पास हुने भएपनि सीप परीक्षणले भने कोरिया जान योग्य युवाको संख्या निर्धारण गर्ने छ । सीप परीक्षण कोरिया जानयोग्य हुने अभिन्न अंग रहेको शाखाले जनाएको छ । सीप परीक्षण असफल र अनुपस्थित हुने युवाले कोरियाको लागि रोजगार आवेदन दिन पाउने छैनन् ।
सीप परीक्षण अनिवार्य

नेपाली युवा माग गर्दै आएको कोरियाले यस वर्षदेखि सीप परीक्षण अनिवार्य गरेको छ । यो वर्षदेखि ईपीएस भाषा परीक्षा सफल भएपनि सीप परीक्षणमा असफल हुने युवाले कोरियाका लागि रोजगार आवेदन दिन नपाउने भएका छन् । वैदेशिक रोजगार विभिाग ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले कोरियाले विदेशी कामदार छनोटको अन्तिम आधार सीप परीक्षणलाई अनिवार्य गरेपछि भाषा परीक्षा पास गरेपनि माग गर्ने भनिएका १० हजार ५० नेपाली युवा कोरिया जान सक्ने सुनिश्चित भने नहुने बताए ।

१२ वर्ष अघिदेखि कोरियाले सञ्चालन गरेका ९ वटा भाषा परीक्षामा उत्तीर्ण भएमात्र कोरिया प्रवेशको योग्य सूचीमा रोजगार आवेदन दिन पाउने सरल व्यवस्था गरेको थियो । “यो वर्षदेखि छनोट प्रक्रियालाई केही कडाई गदै कोरियाले १० औ भाषा परीक्षापछि सीप परीक्षण अनिवार्य गरिएको छ,” भण्डारीले कारोबारसँग भने, “अब भाषा परीक्षा पास गर्दैमा कोरियाको लागि रोजगार आवेदन दिन योग्य हुने छैनन् ।” कोरियाका रोजगारदाताले दक्ष र सीपयुक्त विदेशी जनशक्तिको माग गरेपछि कोरिया सरकारले ईपीएस लागू गरेका १६ वटै देशका लागि सीप परीक्षण अनिवार्य गरेको हो । सीप परीक्षणमा नेपाली युवाको काम गर्ने दक्षता, लगाव, तन्दुरुस्ती, भाषा ज्ञान र शारीरीक क्षमतालगायतका विषय हेरिने जनाइएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार १०:०१