सिद्धिचरण लोकमार्ग खुलेपछि पहाडी क्षेत्रको जनजीवन सहज बन्दै

गाईघाट: सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको छ । सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चालनमा आएको छ । यो लोकमार्ग सञ्चालनमा आएसंगै उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको हो ।

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको ठाँटी भञ्ज्याङमा गत असारको चौथो हप्ता आएको निरन्तर वर्षापछिको पहिरोले अवरुद्ध गरेपछि उक्त मार्गको पुरानो ट्र्याक छाडेर पुन नयाँ ट्र्याकबाट सडक निर्माण कार्य शुरु गरेको थियो । सडक डिभिजन कार्यालय लहान सिरहा र कटारी नगरपालिकासहित स्थानीयवासीको सहयोगमा सो सडकको नयाँ ट्र्याक निर्माणकार्य सम्पन्न भएपछि दुई दिनदेखि सिद्धिचरण लोकमार्ग पूर्णरुपमा सुचारु हुन थालेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

अवरुद्ध सडक सञ्चालनमा आएपछि सिरहाको मिर्चैया, कटारी हुँदै घुर्मी भएर हर्कपुर ओखलढङ्ंगा र खोटाङको हलेसी दिक्तलेसम्म यातायात सुचारु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताउनुभयो ।

कटारीस्थित ठाँटी भञ्ज्याङ्मा वर्षेनी खस्ने पहिरोका कारण सडक अवरुद्ध हुन थालेपछि सडकको एलाइन्स र ट्र्याक नै पूर्णरुपमा परिवर्तन गरेर अर्को सडक निर्माण गर्नुपरेको कारण केही समय लाग्न पुगेको सडक डिभजन कार्यालयका प्राविधिक प्रमुख विनोदकुमार साहले बताउनुभयो ।

सो लोकमार्ग सञ्चालन भएसंगै तराईबाट कटारी हुँदै पहाडी क्षेत्र खोटाङ र ओखलढुङ्गा तथा खोटाङ र ओखलढुङ्गा हुँदै तराईसम्म यातायताका साधान सुचारु भएपछि दैनिक हजारौं यात्रु आवतजावत गर्न थालेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । रासस


प्रकाशित | २७ श्रावण २०७६, सोमबार १४:४२