सरकारी अध्ययनले नै भन्यो– मूल्यवृद्धि अस्वाभाविक

काठमाडौं :  बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्ष छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको अध्ययनको निष्कर्ष छ । बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन् ।

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ । तरकारीमा विषादी परीक्षणसँगै आयातमा कमी आएको, बाढीपहिरोको कारण आपूर्तिमा समस्या हुँदा बजारमा अधिकांश तरकारीको मूल्य उच्च विन्दुमा पुगेको सरकारी अध्ययनले देखाएको छ । यस्तो अध्ययन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको हो ।हरियो तरकारीसँगै अन्य दैनिक उपभोग्य वस्तुमा अस्भाविक रूपमा मूल्य बढेको अध्ययनले देखाएको छ ।
अभावको मौका छोपेर बिचौलियाले पनि चलखेल गर्दा थप मूल्य बढेको जनाइएको छ । विभागले गरेको अध्ययनअनुसार एक वर्षमा गोलभेंडाको खुद्रा मूल्यमा १०९ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ । बजारमा हरियो तरकारी, दाल, चामलदेखि अधिंकाश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको हो ।

उपभोक्ता अधिकारकर्मीहरू भने बजारमा नियमनकारी निकायको प्रभावकारी उपस्थिति नहुँदा अत्यावश्यकीय वस्तुको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको बताउँछन् । विभागका अनुसार गत वर्ष २१ साउनमा प्रतिकेजी ५५ रुपैयाँ रहेको गोलभेंडाको मूल्य यस वर्षको साउन २१ मा भने ११५ रुपैयाँ पुगेको छ । यस्तै, गत वर्ष ५५ रुपैयाँ रहेको भन्टा लाम्चोको मूल्य बढेर ९५ रुपैयाँ पुगेको छ भने गत वर्ष प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमास कोसाको मूल्य बढेर १४५ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिकेजी ५५ रुपेैयाँ रहेको तितेकरेलाको मूल्य बढेर ७५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ४५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य पनि ६५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ४८ रुपैयाँ रहेको प्याजको मूल्य बढेर ५५ रुपैयाँ पुगेको छ । ८५ रुपैयाँ रहेको बोडी मूल्य बढेर ९५ पुगेको छ ।

प्रतिकेजी १२० रुपैयाँ रहेको मस्याङ दालको मूल्य बढेर किलोमा एक सय ३० रुपैयाँ पुगेको छ । प्रतिकेजी ४५ रुपैयाँ रहेको आँटाको मूल्य बढेर ५५ रुपैयाँ पुगेको छ । प्रतिकेजी चिनीमा पाँच रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । प्रतिकेजी १३० रुपैयाँ रहेको बासमति चामलको मूल्य किलोमा १० रुपैयाँ बढेर १४० रुपैयाँ पुगेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले तरकारीको विषादी परीक्षण सुरु गरेसँगै बजारमा तरकारीको मूल्यवृद्धि भएको बताए । आपूर्तिमा देखिने समस्या, करका दर वृद्धि, आन्तरिक उत्पादनमा कमी आउनुले पनि बजारमा मूल्य बढ्न गएको उनको भनाइ छ । “विभागसँग भएको जनशक्तिअनुसार बजार अनुगमन गरेका छौं,” महानिर्देशक गौचनले भने, “ जनशक्ति कम हुँदा प्रभावकारी रूपमा अनुगमन गर्न सकिएको छैन ।” बिचौलिया र व्यवसायीले वस्तुको अभाव सिर्जना गरी थप मूल्य बढाउने, कार्टेलिङ तथा सिन्डिकेट गरिरहेको उनको भनाइ छ ।  यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ ।


प्रकाशित | २७ श्रावण २०७६, सोमबार १०:३४