उपाधि दाबेदार युनाईटेड र चेल्सी भिड्दै

एजेन्सी :  इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार (आज) उपाधि दाबेदार दुई क्लब म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । ओल्ड ट्राफोर्डमा हुने युनाईटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनेछ । र, दुवै टोली सिजनको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

नर्वेजियन प्रशिक्षक ओले गुनार सोल्सायरले चेल्सीविरुद्ध यसै सिजन अनुबन्ध गरेको मुख्य २ खेलाडी ह्यारी मागुएर र वान बिसाकालाई मैदान उतार्ने छ ।  त्यसबाहेक पाउल पोग्बा, एन्थोनी मार्सियल, जेसे लिंगार्ड, मार्कुस राष्फोर्ड र फ्रेड लगायतका खेलाडीलाई सोल्सायरले मैदान उतार्ने छ ।

यता, चेल्सी यो सिजन खेलाडी अनुबन्धको प्रतिबन्धको मारमा पर्यो । यस्तै मुख्य खेलाडी इडेन हाजार्ड रियल मड्रिड गएपछि चेल्सी थप समस्यामा परेको छ । तर, प्रशिक्षक फ्रान्क लाम्पार्डले नयाँ सिजनका लागि लोनमा गएका मुख्य तीन खेलाडी फर्काएको छ । जसलाई प्रयोग गर्दै चेल्सीले युनाईटेडविरुद्ध टिम बनाउने छ ।

चेल्सीले यूनाईटेडविरुद्ध बोरुसिया डर्टमण्डबाट फर्किएका क्रिस्टियन पुलिसिचलाई मुख्य हतियारको रुपमा प्रयोग गर्ने छन् । यस्तै चेल्सीले पेड्रो, कान्टे, इब्राहिम लगायतका खेलाडी मैदान उतार्ने छ ।

लिग अन्तर्गत नै आइतबार आर्सनलले उसैको मैदानमा न्युकासल युनाईटेडको सामना गर्नेछ । आर्सनल र न्युकासलबीचको खेल ६:४५ मा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा वुल्भ्स र लेष्टर सिटीबीच पनि प्रतिस्पर्धा हुनेछ । लिगको नयाँ सिजन साविकको विजेता म्यानचेस्टर सिटी, लिभरपुल, टोटेनहम, ब्राइटन र बर्नलीले विजयी सुरुवात गरिसकेका छन् ।


प्रकाशित | २६ श्रावण २०७६, आईतवार १६:१६