निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै

– हेमन्त केसी

जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ ।

बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी बताउँछन् । निगालो मासिएसँगै निगालोको चोयाबाट निर्माण हुने डोको, डालो, भकारीलगायत अन्य सामग्री निर्माण गर्न कठिनाइ भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताउनुभयो ।

निम्न वर्गका स्थानीयवासी डोको, नाङ्लोलगायतका वस्तु निगालोको चोयाबाट निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । अहिले निगालो लोप भएसँगै पेशा नै हराउन थालेको उनीहरुको भनाइ छ ।

जिल्लाका बारेकोट, नलगाड, कुशे र जुनिचाँदे गाउँपालिकामा बढी निगालोको प्रयोग हुँदै आएको छ । निगालोको तामा ९टुसा० जथाभावी तरकारी खाने र वर्षायाममा माथिल्लो क्षेत्रमा पशुचौपाया लिएर जाँदा निगालोलाई घाँसको रुपमा बढी प्रयोग गर्दा पनि निगालो मासिएको डिभिजन वन कार्यालयले जनाएको छ । संरक्षणतर्फ कसैले ध्यान नदिने तर सधैँ प्रयोग मात्र गर्दा निगालो लोप भएको हो ।

निगालोकै जङ्गलमा रेडपाण्डा लगायतका जनावार बस्ने भए पनि निगालो मासिंदा यी जनावरसमेत सुरक्षित बासस्थानको अभावमा लोप हुँदै गएका छन् । नलगाड नगरपालिका तथा बारेकोट र कुशे गाउँपालिका विश्वमै लोपोन्मुख रेडपाण्डाको बासस्थान मानिन्थ्यो ।

अहिले यी क्षेत्रमा निगालोको विनाश हुँदा जाँदा सुरक्षित वासस्थानको अभावमा रेडपाण्डा पाउन छाडिएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाइले बताउनुभयो । उहाँले भन्नुभयो, “रेडपाण्डा संरक्षण क्षेत्रमा छिट्टै संरक्षित क्षेत्र घोषणा कार्यक्रम शुरु हुन लागेकाले सामुदायिक वनको विधान परिमार्जन गरी निगालो संरक्षणको अभियान शुरु हुन लागेको छ ।”

गत वर्ष आएको विज्ञहरुको टोलीले गरेको अध्ययनमा यस क्षेत्रमा २० देखि २२ वटासम्म रेडपाण्डा रहेको अनुमान गरिएको छ । यी तीनैवटा पालिकाले रेडपाण्डा संरक्षणका लागि बजेटको समेत व्यवस्था विशेष कार्यक्रम बनाएर वन उपभोक्ता समूहका सदस्य र स्थानीयवासीलाई तालीम लिएका छन् । दुई तीन वर्षको अवधिमा शिकारीको पासोमा परी बारेकोटमा ती वटा र कुशे गाउँपालिकामा एउटा रेडपाण्डा मारिएको थियो । लोपोन्मुख यस जनावर मारेको अभियोगमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी मुद्दा समेत चलाइएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले जाजरकोटका तीन वटा स्थानीय तहका सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गरेर यहाँको जल, जमीन, जङ्गल, जडीबुटी र वन्यजन्तु संरक्षणका लागि अभियानमा लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । यहाँका तीन स्थानीय तहलगायत डोल्पाको मुड्केचुला र जुम्लाको स्थानीय तहका केही ठाउँमा संरक्षित क्षेत्र घोषणा गर्नका लागि पहिलो चरणको विज्ञसहितको टोलीले अध्ययन गरिसकेको मन्त्री बस्नेतले बताउनुभयो । रेडपाण्डा, कालिजलगायतका संरक्षित वन्यजन्तु संरक्षणका लागि निगालो जोगाउनु पहिलो दायित्व भएको उहाँको भनाइ छ ।

निगालो जोगाउनका लागि हिमाली क्षेत्रमा जथाभावी रुपमा पशु चौपायालाई लिएर गोठाला जाने कार्यलाई व्यवस्थित गरिने संरक्षित क्षेत्रको कार्ययोजनामा रहेको छ । निगालोको लागि जाजरकोट सबैभन्दा उत्कृष्ट क्षेत्र भए पनि अहिले कमजोर हुँदै गएको छ ।


प्रकाशित | २५ श्रावण २०७६, शनिबार १३:४४