काम गर्ने अवसर दिनुस्, सक्षम र योग्य शावित गराउनेछु:  पुनम गुरुङ, अध्यक्ष उम्मेदवार, एनआरएनए यूके

लन्डन : नेपाली नागरिकताको निरन्तरता मुख्य एजेन्डा बनाएर गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको चुनावी मैदानमा होमिनु भएको पुनम गुरुङ हिजोआज निकै ब्यस्त हुनुहन्छ । पुनम विशेष गरि विश्वमै सबैभन्दा ठूलो सस्था बन्न सफल एनआरएनए यूकेलाई अझै प्रभावकारी रुपमा बेलायतमा रहनु भएको नेपाली समुदायमाफ पुर्याउँदै चुनावी प्रचारप्रसारसँगै एनआरएन अभियानमा ब्यस्त हुनुहुन्छ ।  पुनम आगामी नेतृत्वमा अगाडि बढिरहँदा पहिलो पटक गठन भएको एनसिसी, त्यहीमाथि सबैभन्दा धेरै सदस्य भएको संस्था बनीरहँदा आइपर्ने जिम्मेवारीको सामाना गर्दै अगाडि बढ्न तम्तयार रहेको बताउनुहुन्छ । पुनमलाई यतिखेर सबैतीरबाट सद्भाव, साथ र सहयोग गर्नेको ठूलो जमात छ । पुनमको अघिल्लो (२०१७ -२०१९ ) एनआरएनए एनसिसी यूकेको निर्वाचनमा उपाध्यक्षमा सबैभन्दा धेरै मत पाएर विजयी हुँदाको क्रेज अहिले झनै बढेको छ ।

अघिल्लो निर्वाचनमा उपाध्यक्षमा सबैभन्दा बढी मत पाएर मतदाताको भावनालाई राम्ररी कदर गर्न सफल हुनुभएको पुनम यस पटक एनआएनए यूकेको १६ वर्षे इतीहासमा अर्को एउटा नयाँ रेकर्ड राख्न प्रयासरत हुनुहुन्छ । यूकेको इतिहासमा पहिलो महिला नेतृत्वमा ल्याउन यूकेबासीहरु समेत आत्तुर रहेको पाइन्छ । ‘यूकेबासीबाट मैले पाएको माया, साथ र सहयोग तथा सबैको सद्भावले थप उत्साहीत बनाउने गरेको छ’, पुनम भन्नुहुन्छ । पुनम एनआरएन गैर राजनीतिक र गैरनाफामूलक संस्था भएको बताउँदै यसलाई कुनै जात, धर्म, क्षेत्र, लिंगको आधारमा विभक्क्त गर्न नहुने विचार समेत राख्नुहुन्छ ।

त्यस्तै, नेतृत्व गर्ने मौका र अवसर मिले उदाहरणीय र नमूना बनाउने प्रण समेत गर्नुहुन्छ । ‘नेतृत्वको लागि सबैभन्दा ठूलो गुण भनेको अनुभव, क्षमता मात्र हो’, पुनम भन्नुहुन्छ, ‘मैले अहिलेसम्म हासिल गरेको अनुभव, विभिन्न संघसंस्था हुँदै एनआरएनए यूकेमा गरेको योगदानले सक्षम शावित भइसकेको छु भन्ने लाग्छ । यो मैले भन्ने भन्दा पनि यूकेबासी नेपाली दिदी- बहीनी, दाजुभाईहरुले मूल्यांकन गर्ने विषय हो ।’  पुनम सबैले क्षमतामा विश्वास गर्नुपर्नेमा जोड दिर्दैै क्षमताको अगाडि कुनै जात, लिंग, वर्णले कुनै अर्थ नराख्ने विचार समेत राख्नुहुन्छ ।

‘नेतृत्वमा जाने भनेको निस्वार्थ हिसावले काम गर्नको लागि हो ताकी कुनै स्वार्थ लिएर जाने होइन । त्यहाँ सबै वर्गलाई अटाउनुपर्छ भन्ने मेरो विचार रहँदै आएको छ । त्यसको लागि मैले सधै सबैलाई स्वागत गर्ने गरेकी छु’, पुनम भन्नुहुन्छ, ‘संस्थामा राम्रो, काम गर्न सक्ने, योगदान गरेका र समाजका लागि आवश्यक तथा केहि गरौ भन्ने मानीसलाई सबैले सम्मान र इज्जत गर्नुपर्छ, म त्यही भावना लिएर अगाडि बढेको छु ।’

पुनम थप्दै भन्नुहुन्छ, ‘सामाजीक संघ संस्थामा केहि लिनको लागि नभई केहि गर्न वा योगदान गर्नको लागि जाने हो, त्यहाँ कुनै स्वार्थ हुनुहुँदैन भन्ने मेरो मान्यता हो । जहाँ निस्वार्थ हिसावले काम हुँन्छ, त्यहाँ राम्रा मान्छेहरुको सम्मान हुन्छ । त्यसैले हामीले राम्रा र योगदान गरेका मान्छेलाई अटाउनको लागि त्यस्ता चरित्र बोकेका मान्छेहरुलाई समेट्नुपर्छ भन्ने भावनाले अगाडि बढिरहेका छौ । पुनम संस्थालाई नेतृत्व एक्लैले मात्र केहि गर्न नसक्ने बताउँदै भन्नुहुन्छ, ‘संस्था हाँक्ने भनेको राम्रा र निस्वार्थी ब्यक्तीहरुको टिम स्प्रिीटले हो, त्यसैले राम्रा, काम गर्न सक्ने, समाजको लागि योगदान गरेका ब्यक्तीहरुलाई समेट्नुपर्छ ।’

हाल गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्ष रहनु भएको गुरुङले वर्तमान कार्यकालमा आफूलाई निकै सफल र योग्य शावित गराउनुभएको छ । विशेष गरि निस्वार्थ हिसावले सामाजीक काम गर्नुपर्छ भन्ने भावनाले ओतपोत गुरुङका राम्रा गुणले गर्दा नै होला आगामी अध्यक्षमा बलियो उम्मेदवारीको रुपमा सबैले चित्रीत गर्ने गरेका छन् । गुरुङले अहिलेसम्म हासिल गर्नुभएको अनुभव, समाजसेवामा पुर्याएको योगदानकै कारण हुनुपर्छ उहाँले सार्वजनीक गर्नुभएको चुनावी घोषणापत्र निकै पठनीय र एनआरएनएनका अधिकांश जसो मुद्धालाई समावेश गरेको पाइन्छ । उहाँले घोषणापत्रमार्फत पहिलो प्रमुख एजेन्डाको रुपमा नेपाली नागरिकताको निरन्तरता, समृद्ध नेपाल निर्माणमा हाम्रो अग्रसरता जस्ता निकै राम्रा विषयवस्तुलाई समेटनु भएको छ ।

त्यस्तै, घोषणापत्रमा उहाँले भूपू गोरखाको आवाजलाई सशक्त ढंगले उठाउनुभएको छ । साथै नेपाल सरकारले मनाउन गइरहेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि समावेश गर्नुभएको छ । आफू नेतृत्वमा विजयी भएमा भिजीट नेपाल २०२० लाई सफल बनाउन यूकेको तर्फबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) र नेपाल सरकारबीच १० अर्बको लगानी विषयमा समझदारीपत्रमा हस्ताक्षर भइरहेको बखतमा सामूहिक लगानी कोषको निर्माण गर्ने अवधारणलाई समेत आत्मासाथ गर्नुभएको देखिन्छ । अर्को, निकै महत्वपूर्ण ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रवर्धन गर्ने, बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने, महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकास गर्ने, ‘नेपालीमन नेपालीपन’, एनआरएनको नेपाली घर निर्माण गर्ने, नेपालीको मौलिक भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने विषयवस्तुलाई पनि समेट्नु भएको छ ।

त्यस्तैगरि, ‘खेलकूद, अनुशासन र विकास, जगाऔं युवकहरुमा आत्मविश्वास’ भन्ने अभियान पनि समावेश गर्नुभएको छ । साथै बौद्धिक ज्ञान र प्रबिधिको हस्तान्तरण, मानवीय र कल्याणकारी कामको सवालमा ‘परोपकार नै पुण्यः दुखःमा हात, आँशुमा रुमाल ‘ जस्ता निकै राम्रा स्लोगन, गैर आवासीय नेपालीलाई मतदानको अधिकार, एनआरएन मन्त्रालय हाम्रो सरोकार, महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकास, सांगठनिक सुदृढिकरण र पारदर्शिताको सवालः ‘हाम्रो एनआरएन -राम्रो एनआरएन’ जस्ता महत्वपूर्ण स्लोगन तथा बुँदालाई घोषणापत्रमा समावेश गराउनुभएको छ । समग्रमा गुरुङले नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपू गोर्खा लगायतको मुद्धामा आफुले सशक्त र प्रभावकारी रुपमा काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

विभिन्न सामाजिक संघसंस्थामा समेत निकै सक्रिय रहनु भएको गुरुङ तमु धि यूके आमा समूहको संस्थापक अध्यक्ष हुनुहुन्छ । त्यस्तै, नेप्लिज बुमन्स एसोशियसन, बेजिङस्टोक नेपाली कम्युनिटी, बिसीजी यूके लगायतका कयौ संस्थामा उहाँको सक्रियतापूर्वक सहभागिता रहँदै आएको छ । प्रपटी, रेष्टुरेन्टलगायत ब्यवसायमा आबद्ध रहनुभएको गुरुङ एक सफल महिला उद्यमी समेत हुनुहुन्छ । कम बोल्ने र धेरै काममा विश्वास गर्ने स्वभावको गुरुङको यही शैलीलाई लिएर सबैले विश्वास गर्ने गरेको पाइन्छ ।

पुनम वर्तमान कार्यकालमा उपाध्यक्ष भइरहँदा एनआरएनए यूके उपाध्यक्ष तथा संघसंस्थामा समन्वय विभाग संयोजकको जिम्मेवारीमा पनि रहनु भयो । सो जिम्मेवारीमा रहँदा गरेको महत्वपूर्ण योगदानको भने सबैले खुलेर प्रशंसा गर्ने गरका छन् । गुरुङले वर्तमान कार्यकालमा आफूलाई योग्य र सक्षम शावित गरेकै कारण सबैको रोजाईमा पर्न सफल हुनुभएको हो । आफनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल हुनुभएको गुरुङले पञ्जीकृत सदस्यता विस्तार अभियानमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । अन्तमा विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै पुनम समाजको लागि केहि गर्छु भन्ने ब्यक्तीलाई आगामी निर्वाचनमा यूकेबासी सबैको साथ र सहयोग मिल्ने विश्वास ब्यक्त हुनुुहन्छ । साथै, सबैको साथ र सहयोग तथा सद्भावले मात्र अगाडि बढ्न सम्भव रहेको भन्दै पुनमले सबै यूके नेपाली समुदायमा सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार २३:३९